७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज ७१ औँ प्रजातन्त्र दिवस, देशभरी भव्यरुपमा मनाईदैँ



काठमाडौं : फागुन ७, आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । तत्कालीन प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ । ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ मनाइँदै छ ।

गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !