१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालयका शाखा अधिकृत ‘भ्रष्टाचारी’ ठहर



काठमाडौं- विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थारू र चन्द्रबहादुर सारुको इजलासले यातायात कार्यालयका कर्मचारीलाई दोषी ठहर गरेको हो । विशेषले ललितपुर एकान्तकुनास्थित यातायात कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत भक्तबहादुर विष्टलाई दुई लाख जरिवाना र एकवर्ष कैद फैसला गरेको हो । लिखित तथा ट्रायल परीक्षामा फेल भएका तथा परीक्षामा उपस्थित नै नभएकालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध अख्तियारले १७ माघ २०७५ मा मुद्दा दायर गरेको थियो । परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको सूचना आएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारले शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, कम्प्युटर अपरेटर जयनारायण चौधरी र सचिनकुमार सिंह, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भ-याङका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, तत्कालीन एकान्तकुनामै कार्यरत तथा हाल कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह, मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला र हाल प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साह गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय