१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

परीक्षा उत्तीर्ण भएको महिनादिनमै सवारी लाइसेन्स पाइने



काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने मास प्रिन्टरको प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिनेछ । विभागले १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए ।

विभागले गतवर्ष खरिद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताउनुभयो । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ । कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !