१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

झापामा रबर उद्योग सञ्चालनको अन्तिम तयारी



काठमाडौं : नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । अहिले झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए । विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ । पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ ।

बिरुवा रोपेर उत्पादन हुने रबर प्राकृतिक हुने भएको हुँदा यसको विश्वभरि उच्च माग छ । यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ । नेपालले बर्सेनि अर्बौंको रबर आयात गर्दै आएको छ । तर रबर खेती र यसमा आधारित उद्योग खुल्दै जाने हो भने ठूलो मात्रामा आयात प्रतिस्थापित हुने सम्भावना रहेको छ । गर्मी क्षेत्रमा रबरको बोट हुर्किन्छ । यसको फेदबाट दूधजस्तो चोप निकालेर सङ्कलन गरिने र सङ्कलित चोपलाई प्रशोधन गर्दा प्राकृतिक रबर उत्पादन हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !