७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सहकार्यबारे पार्टीका पदाधिकारीसहित शीर्षस्थ नेताहरुको राय लिएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, काँग्रेस राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल,नेता दिलेन्द्र बडू, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत सहभागी थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिरबाट आउन ढिलो भएपछि दिउँसो तीन बजेलाई बोलाइएको बैठक पाँच बजेपछि मात्र सुरु भएको थियो । छलफलमा नेताहरु सत्ता सहकार्यबारे नेकपाका केपी ओली भन्दा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा काँग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए । उनले मुलुकलाई निकास दिन प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न काँग्रेस लचिलो बन्नुपर्ने पौडेलको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ गते प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिनिधिसभामा अविश्वास प्रस्तावसमेत दर्ता गरेको थियो । काँग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने तीन विकल्पमा छलफल भएको स्रोतले जानकारी दियो । यद्यपि सभापति शेरबहादुर देउवाले अझै स्थिति परिपक्व बनिनसकेको भन्दै नेकपाको औपचारिक विभाजन नहुँदासम्म यो पक्ष र उ पक्ष भनेर काँग्रेस खुल्न नहुने मत राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !