१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मेयर कप क्रिकेटको दोस्रो खेलमा पुलिसले बागमतीलाई दुई रनले हरायो



काठमाडौं- अत्यन्तै रोमाञ्चक स्पर्धामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई दुई रनले हराएको छ । पुलिसले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याउँदै बागमती २७ ओभर २ बलमा मात्र ७० रनमा समेटिन पुग्यो । काठमाडौंमा शनिबारबाट सुरु भएको मेयर कप क्रिकेटको दोस्रो खेलमा झिनो लक्ष्य पछ्याउने क्रममा २१ रनमै दुई विकेट गुमाएको बागमतीका कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न नसक्दा उसले हार बेहोरेको हो । ५७ रनमा पाँच विकेट गुमाएको बागमतीलाई जितका लागि १६ रन आवश्यक छँदा थप १३ रन जोडन पाँच विकेट गुमाएर ७० रनमा समेटिन पुग्यो । कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले दश रन बनाउनु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । बागमतीका पारस खडका, सोनु देवकोटा, नन्दन यादब र रामनरेश गिरी डक आउट हुनुभयो ।

बागमतीलाई सस्तोमै समेटन दिपेन्द्रसिंह ऐरीलाई सर्वाधिक चार विकेट लिनुभयो । सागर ढकालले दुई तथा ललित राजवंशीले तीन र राशिद खानले एक विकेट लिनुभयो । त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपाल पुलिस क्लब ७२ रनको झिनो योगफलमा समेटिएको थियो । बागमतीले उसलाई २५ ओभर २ बलमा मात्र ७२ रनमा रोकेको हो ।

पुलिसले १९ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर सुनिल धमलाले १० र कुशल भुर्तेलले दुई रन बनाएर पेभेलियन फर्किनुभयो । कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र अमित श्रेष्ठको रुपमा बागमतीका नन्दन यादबले लगालग तीन विकेट लिएपछि पुलिसको पारी धरमराएको थियो । मध्यक्रममा अनिलकुमार साह र दिलीप नाथले सामान दश दश रन तथा मञ्जित श्रेष्ठले १५ रनको योगदान दिनुभयो । उसको पारीका छ जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । बागमतीका लागि नन्दन यादबले तीन तथा अरियो पौडेलले चार र सोनु देबकोटाले एक विकेट लिनुभयो ।


प्रतिक्रिया दिनुहोस !