८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

एमालेका नेता युवराज बास्कोटा पक्राउ



विराटनगर । प्रहरीले शङ्कास्पद मृत्युको अनुसन्धानका लागि मोरङमा नेकपा एमालेका स्थानीय नेतालाई पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्युबारे अनुसन्धानका लागि एमालेका स्थानीय नेता युवराज बास्कोटालाई पक्राउ गरेको हो । पथरीशनिश्चरे– २ का बास्कोटाको घरमा पाहुना गएका विद्यार्थी नेता भण्डारी गत पुस १४ गते मृत अवस्थामा भेटिएका थिए । भण्डारी बाल क्लबका अगुवा पनि हुन् । बास्कोटाको घरको कोठामा मृत भेटिएका भण्डारीको हत्या भएको आफन्तले दावी गरेका छन् । आफन्तले पुस २६ गते हत्याको दाबीसहित इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका थिए ।

प्रहरीले केही दिन अनुसन्धान गरी बास्कोटालाई छाडेको थियो । सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पथरीमा आयोजना गरिएको कार्यक्रममा अतिथि बनेर पुगेका बास्कोटालाई स्थानीय केही महिलाले हत्यारा भन्दै कुटपिट गरेका थिए । आफ्ना नेतामाथि दुव्र्यवहार गरेको भन्दै एमाले पथरीशनिश्चरे समितिले विज्ञप्ति जारी गर्दै आपत्ति पनि जनाएको छ । बुधबार बिहान प्रहरीले उक्त मृत्युबारे अनुसन्धानका लागि बास्कोटालाई पक्राउ गरेको हो । पोष्टमार्टम रिपोर्ट र भिसेरा रिपोर्ट आइसकेका कारण थप अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । बास्कोटालाई बुधबार नै म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !