१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जसपाका २२ सांसद ओलीको सरकारमा जाने तयारी, भट्टराई र उपेन्द्र यादव विपक्षमा



काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र ) र एमालेलाई ब्यूताएपछि नेपालको सत्ता समीकरण फेरिने भएको छ । नयाँ सरकाका लागि एमाले, माओवादीले कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेको बेला जनता समाजवादी पार्टीका २२ जना सांसदहरु ओलीकै सरकारमा सहभागी हुने आशंका गर्न थालिएको छ । प्रचण्डले बुधबार पेरिसडाँडामा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग करिब एक घण्टा छलफल गरे । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलनरत दलहरूले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । प्रतिउत्तरमा आफूहरूका लागि त्यो भन्दा पनि संविधान संशोधन, सांसद रेशम चौधरीलगायतको रिहाइ महत्वपूर्ण रहेको जसपा वरिष्ठ नेता महतो बताए ।

सरकारमा जाने विषयमा विवाद नभए पनि कसलाई समर्थन गर्ने भन्ने विषयमा मतभेद रहेको जसपाका नेताहरू बताउँछन् । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताएको बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी दिएका थिए । ठाकुरले सत्ता गठबन्धनसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जिम्मेवारी दिएको बताएपछि संसदीय दल बैठकको माहोल फेरिएको थियो । खासगरी संसद विघटनको विरोधमा आन्दोलन गर्न लबिङ गरेको पक्षले कुनै पनि हालतमा ओलीसँग सत्ता साझेदारी गर्न नहुनेमा जोड दिएका थिए । प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् । बहुमतका लागि ओलीलाई थप १७ सांसदको साथ चाहिन्छ । ३२ सिट भएको जसपाको साथ पाउने हो भने कांग्रेस र माओवादी केन्द्रको समर्थनविनै बहुमतका लागि आवश्यक १३८ सिट सजिलै पुग्छ ।

उता प्रधानमन्त्री ओली निकट एक नेता भन्छन्, ‘सिंगो जसपा आएन भने पनि कम्तीमा २२ जना हामीसँग आउने निश्चित जस्तै छ ।’ ती नेताका अनुसार साविक राजपाका एकाधबाहेकका सांसदले एमालेलाई समर्थन गर्ने लगभग निश्चित भएको छ । यद्यपि उनले जसपाका नेताहरूको माग पूरा हुने वा नहुनेमा उनले केही बोल्न चाहेनन् । प्रतिनिधिसभामा साविक राजपा र सपाका १७–१७ सांसद छन् । राजपाबाट सांसद बनेका रेशमलाल चौधरी र सपाका सांसद हरिनारायण रौनियार निलम्बित छन् । राजपा अध्यक्ष मण्डलका संयोजक रहिसकेका सांसद महेन्द्रराय यादव माओवादी केन्द्रसहितको गठबन्धनको पक्षमा देखिएका छन् । साविक समाजवादी पार्टीका सांसदहरू मध्ये प्रदीप यादव, सुरेन्द्र यादव, उमाशंकर अरगरिया, मोहम्मद इस्तियाक राई, रामबाबु यादव, बिमल श्रीस्ताव, कलुदेवी बिक, रेणुका गुरुङ र रेणु यादवले ओलीलाई साथ दिन सक्ने राजपाका एक नेता बताउँछन् । नाम उल्लेख गर्न नचाहने ती नेताको दाबीलाई मान्ने हो भने सिंगो जसपाले साथ दिएन भने पनि २४ सांसद ओलीको पक्षमा आउने सम्भावना छ ।

जसपाको ७७९ सदस्यीय केन्द्रीय समितिमध्ये साविक सपाका ४०० र राजपाका ३७९ छन् । केन्द्रीय कार्यकारिणी समितिमा राजपाका २६ र सपाका २५ जना छन् । महेन्द्र राय यादव सपाको पक्षमा लाग्दा केन्द्रीय कार्यकारिणीमा साविकको सपाको बहुमत पुग्ने देखिन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव भने कर्ण र शुक्लले एमालेलाई समर्थन गर्न नभई रेशम चौधरीलगायतका आन्दोलनकारी मुद्दा फिर्ताको पहल गर्न वार्ताको जिम्मेवारी पाएको बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !