१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

युट्युबमा लागू भयो नयाँ कर नीति, अब नेपाल लगायतका सबै युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने



एजेन्सी- युट्युबमा लागू भएको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसै त  युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेकाे अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई निरुत्साहित पार्ने भएको छ । युट्युबले आउँदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने भन्दै युट्युबरलाई ईमेलमार्फत जानकारी गराउन थालेकाे छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ ।

जसले गर्दा कन्टेन्ट क्रियटरले करकाे नियमबारे आवश्यक जानकारी आउँदो मे ३१ सम्म बुझाउनुपर्नेछ । यदि जानकारी बुझाएको खण्डमा गुगलले तपाईंको निर्धारित कर मात्रै कटौती गर्नेछ । यदि मे ३१ तारिखसम्म करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने तपाईंको कुल आम्दानीको २४ प्रतिशत करको रुपमा काटेर मात्रै उपलब्ध हुनेछ ।

अमेरिकाभन्दा बाहिरको क्रियटरको हकमा अब युट्युबले अमेरिकाबाट आएको भ्युजमार्फत भएको आम्दानीको कर कटौती गर्ने नीति लिएको हो । अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिकाभन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने हुन्छ । यसमा देश, क्रियटरका साथ अन्य धेरै कुराले करको दायरा फरक–फरक हुनसक्छ । जसमा पहिला अमेरिकी भिजिटरबाट तपाईंको च्यानलले गर्ने मासिक आम्दानी आम्दानी हो । यदि तपाईंले युट्युबले भनेको समयमा करसम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा तपाईंले अमेरिकाबाट भएको आम्दानीको ० देखी ३० प्रतिशतसम्म कर बुझाउनुपर्छ । करको दायरा भने देशअनुसार फरक-फरक हुन सक्छ । यदि नेपालको अमेरिकासँग युट्युब लगायतका सेवाको हकमा करसम्बन्धी कुनै सन्धी सम्झौता भएको खण्डमा उक्त सम्झौताअनुसार लाग्नेछ ।

नेपालको हकमा अमेरिकासँग कुनै दोहोरो कर सम्झौता भएकाे छैन । यसो हुँदा युट्युबरहरुले दुवैतर्फ कर भुक्तानी गर्नुपर्ने हुन्छ । नेपालको हकमा धेरैजसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले करसम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । यसो हुँदा नेपालका धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेरमात्रै प्राप्त गर्न सक्ने अवस्था छ ।


प्रतिक्रिया दिनुहोस !