१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चलचित्र निर्देशक नारीहरु



विजयरत्न तुलाधर

काठमाडौं- नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा नायिका रेखा थापाले ‘आफू महिला निर्देशक नभई चलचित्र निर्देशक हुँ’ भन्नुभयो । एक अभिनेत्रीका रूपमा उहाँले बीस वर्षअघि चलचित्र यात्रा सुरु गर्नुभएको थियो । उहाँ नेपाली चलचित्र जगत्की शीर्ष व्यक्तित्व हुनुहुन्छ ।

अभिनेत्रीको रूपमा शीर्षस्थान बनाउन सफल रेखा चलचित्र निर्माणमा पनि संलग्न हुनुहुन्छ । केही वर्ष अघिसम्म उहाँले पति छविराज ओझासितको संयुक्त लगानीमा चलचित्र निर्माण गर्नुहुन्थ्यो । पति छविराजसित सम्बन्धविच्छेद भएपछि ‘काली’ चलचित्र उहाँ एक्लैले निर्माण गर्नुभयो । अनि निर्देशकका रूपमा ‘हिम्मतवाली’ चलचित्रबाट आफ्नो यात्रा अगाडि बढाउनुभयो । यो चलचित्रको निर्देशनको जिम्मेवारी निर्देशक श्याम भट्टराईलाई सुम्पेर आफू निर्माता र अभिनेत्रीका रूपमा मात्र रहने विचार गर्नुभएको थियो तर निर्देशक भट्टराईसित सुटिङक्रममा मनमुटाव भएपछि निर्देशनको कामसमेत उहाँ आफैँले सम्हाल्नुभयो ।

‘हुन त पहिलेदेखि नै चलचित्र निर्देशक बन्नेबारे सोचिराखेकी थिएँ, ‘काली’को बेला पनि म आफँै नै निर्देशन गरुँ कि जस्तो लागेको थियो किनकि मैले जसलाई (हिमग्याप टासी) निर्देशकको जिम्मेवारी दिएको थिएँ, उहाँले भ्याउनु भएन । त्यसैले मैले नै निर्देशन गर्नुपर्ने जस्तो भयो । तर, मैले सोचेँ कि निर्देशनजस्तो गहन जिम्मेवारी वहन गर्न हतार गर्नुहुँदैन । त्यसैले सवीर दाइ (सवीर श्रेष्ठ)लाई नै निर्देशकको जिम्मेवारी सुम्पेँ ।’ निर्देशनप्रति आफ्नो झुकाव पहिलेदेखि नै रहेको कुरा रेखाले यसरी एकपटक स्पष्ट पार्नुभएको थियो । दोस्रो चलचित्र ‘हिम्मतवाली’को सन्दर्भमा भने निर्देशक श्याम भट्टराईसँग उहाँको मनमुटाव भयो । फलस्वरूप निर्देशक भट्टराई चलचित्रबाट अलग हुनुभयो । अनि उहाँ स्वयम्ले निर्देशनको जिम्मेवारी सम्हाल्नुप¥यो ।

यसरी बाध्यतावश निर्देशक हुनुभएकी रेखा एउटै चलचित्रमा मात्र सीमित रहने हो कि भन्ने धेरैको शङ्कालाई मेट्दै उहाँले अर्को चलचित्र ‘रामप्यारी’ आफ्नो निर्देशनमा बनाउने घोषणा गर्नुभयो । तर, पछि गएर यो चलचित्रको निर्देशनको जिम्मेवारी पनि सवीर श्रेष्ठलाई नै सुम्पनुभयो । पछिल्लो समय रेखाले ‘मालिका’ चलचित्र आफैँले निर्देशन गर्नुभयो । अहिले उहाँ नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा हुनुहुन्छ । निर्देशकसँगको मनमुटावले अभिनेत्री रेखा थापाले निर्देशनको जिम्मेवारी सम्हाल्नुपरे जस्तै अभिनेत्री सिर्जना बस्नेतको अगाडि पनि यस्तै परिस्थिति आइप¥यो ।

अभिनेत्री सिर्जनाले निर्देशनको जिम्मेवारी लिनुपरेको चलचित्र हो– ‘गुडलक’ । सिर्जना यस चलचित्रको निर्माता पनि हुनुहुन्छ । ‘गुडलक’ चलचित्रको निर्देशकका रूपमा गोविन्द गौतमलाई अनुबन्धित गरिएको थियो । तर, निर्धारित समयमा सुटिङ सुरु गर्न नसक्दा निर्देशक गौतम कामविशेषले मुम्बई जानुपर्ने भयो । मुम्बईबाट उहाँ लामो समय नफर्किएपछि बाध्य भएर अभिनेत्री सिर्जनाले ‘गुडलक’को निर्देशक बन्ने जिम्मेवारी उठाउनुपरेको थियो । चलचित्र बनेको र तयार भएको हिसाबले नेपाली चलचित्र जगत्मा नायिकाबाट निर्देशक बनेको पहिलो व्यक्ति सिर्जना नै भए पनि ‘गुडलक’ चलचित्रको देश–विदेशमा केही ‘च्यारिटी शो’ हुनुबाहेक सार्वजनिक प्रदर्शन भएको छैन । त्यसैले सार्वजनिक रूपमा प्रदर्शन भएको हिसाबले ‘हिम्मतवाली’की रेखा थापा नै नायिकाबाट निर्देशक हुने प्रथम व्यक्तित्व हुनुहुन्छ ।

केही समयअघिको कुरा हो, अभिनेत्री करिश्मा मानन्धर पनि चलचित्र निर्देशनमा उत्रिने खबरले चर्चा पाएको थियो । नेपालका वरिष्ठ चलचित्र व्यवसायी एवम् गोपीकृष्ण मुभिजका संस्थापक उद्धव पौड्यालले अभिनेत्री करिश्मा मानन्धरलाई निर्देशकका रूपमा अनुबन्धित गरेको खबर पनि आयो । नायकका रूपमा हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यलाई लिइने गाइँगुइँ पनि चल्यो । तर, त्यति नै बेला हरिवंश आचार्यकी श्रमिती मीरा आचार्यको असामयिक निधन भयो । आमाको शोकमा डुबेका मोहितले चलचित्रमा अभिनय गर्ने अवस्था नदेखिएपछि सेलाएको त्यो ‘प्रोजेक्ट’ पछि चर्चामा आएन । करिश्मा मानन्धरले निर्माण गर्नुभएको एउटा चलचित्र ‘फागु’ सम्झना उप्रेती रौनियारले निर्देशन गर्नुभयो ।

नेपालमा अभिनेत्रीले चलचित्र निर्देशन गर्ने विषयमा चर्चा गर्दा अभिनेत्री झरना थापाको नाम पनि उल्लेखयोग्य छ । रेखा थापा, सिर्जना बस्नेत र करिश्मा मानन्धरजस्तै झरना थापा पनि केही समययतादेखि चलचित्र निर्माणमा संलग्न रहँदै आउनुभएकी अभिनेत्री हुनुहुन्छ । केही समयको अन्तरालमा अभिनेत्री झरनाले ‘ए मेरो हजुर–२’ र ‘ए मेरो हजुर–३’ गरी दुईवटा चलचित्र निर्देशन गरिसक्नुभएको छ । ‘ए मेरो हजुर’को निर्देशक शिव रेग्मी हुनुहुन्छ भने यसमा श्रीकृष्ण श्रेष्ठ र झरना थापाको प्रमुख भूमिका छ । अभिनेत्री थापा यसको निर्माता पनि हुनुहुन्छ ।

‘ए मेरो हजुर–२’ मा अभिनयका लागि झरनाले अभिनेता श्रीकृष्ण श्रेष्ठसित कुरा गरिसक्नुभएको थियो तर श्रीकृष्णको असामयिक निधनले उहाँको सपना पूरा हुन सकेन । चलचित्रको कथालाई पुनःसंरचाना गरी अर्कै रूप दिनुपरेको थियो । ‘ए मेरो हजुर–२’ ले प्राप्त गरेको सफलताले हौसिएकी झरनाले त्यसको ‘सिक्वेल’का रूपमा ‘ए मेरो हजुर–३’ बनाउनुभयो । यो चलचित्र पनि व्यापारिक रूपमा सफल नै मानियो । अहिले उहाँको निर्देशनमा बनिरहेको ‘ए मेरो हजुर–४’ अन्तिम चरणमा पुगिसकेको छ । निर्देशन क्षेत्रमा अगाडि बढेका अभिनेत्रीको चर्चा गर्दा अर्को उल्लेखनीय नाम होे– दीपाश्री निरौला । ‘तीतोसत्य’ जस्तो अत्यन्त लोकप्रिय टेलिशृङ्खलाको निर्माणमा समेत संलग्न रहनुभएकी अभिनेत्री दीपाश्रीले निर्देशन गर्नुभएको ‘छक्कापञ्जा’लाई नेपाली चलचित्र जगत्मा सर्वाधिक कमाउने चलचित्रका रूपमा लिइन्छ । यो चलचित्रले प्राप्त गरेको सफलताले हौसिएर उहाँले पनि ‘छक्कापञ्जा–२’ र ‘छक्कापञ्जा–३’ चलचित्र निर्देशन गर्नुभयो ।

नारी निर्देशकको चर्चा गर्दा दीपा बस्नेतको नाम पनि छुटाउन मिल्दैन । उहाँको ‘श्री ५ अम्बरे’ एक चर्चित चलचित्र हो । दीपा बस्नेतको यो दोस्रो चलचित्र हो । यसभन्दा अघि उहाँद्वारा निर्देशित ‘अन्तराल’ प्रदर्शित भइसकेको छ । ‘अन्तराल’ सबैतिरबाट प्रशंसा कमाएको चलचित्र हो । चलचित्र निर्देशन गर्ने पहिलो नारीको गौरव भने सुचित्रा श्रेष्ठले हासिल गर्नुभएको छ । उहाँद्वारा निर्देशित चलचित्र ‘प्रेमयुद्व’ हो । उहाँ पछि रक्षा सिंह राणाले ‘द गेम’ निर्देशन गर्नुभयो । यसभन्दा अघि उहाँ चलचित्र सम्पादकका रूपमा सक्रिय रहँदै आउनुभएको थियो ।

चलचित्र निर्देशनको क्षेत्रमा रहनुभएकी अर्की नारी प्रतिभा सम्झना उप्रेती रौनियार हो । उहाँको पहिलो चलचित्र ‘मेघा’ पनि एउटा प्रशंसा बटुल्न सफल चलचित्र हो । सहायक निर्देशकका रूपमा केही नेपाली र हिन्दी चलचित्रमा काम गरी उहाँले निर्देशकको जिम्मेवारी लिनुभएको हो । ‘वीर गणेशमान’ जस्तो ऐतिहासिक चलचित्रको उहाँ सहायक निर्देशक हुनुहुन्छ । यसरी चलचित्र निर्देशनमा नारी नामहरू थपिनेक्रम जारी छ । यसैक्रममा ‘तँ म र ऊ’ र ‘आधा पेज’ जस्ता चलचित्रमार्फत यो क्षेत्रमा पाइला बढाउने निर्देशकको नाम समुद्र भट्ट हो भने ‘काफल पाक्यो’ चलचित्रबाट निर्देशन क्षेत्रमा आउनुभएकी निर्देशक सावित्री खत्री हुनुहुन्छ ।- गोरखापत्रबाट 


प्रतिक्रिया दिनुहोस !