१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चैतदेखि अनिवार्य भनिएको इम्बोस्ड नम्बर प्लेट जडान पर धकेलियो, सेवाग्राहीहरु विरोधमा



काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले चैत एक देखि लागू गर्ने भनेको सवारीसाधनमा अनिवार्य इम्बोष्ड नम्बर प्लेट जडानको मिति पर धकेलिएको छ । विभागले चैत एक गते देखि देशभरका सवारीसाधनमा इन्बोष्ड नम्बर प्लेट जडान गर्ने भनेर घोषणा गरेको थियो । तर, यहि बीचमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालको सरुवा भएपछि नम्बर प्लेट जडान अनिवार्य मिति अन्योल परेको हो । अहिले सवारीसाधन इम्बोस्ड नम्बर प्लेट अनिवार्यका नेतृत्व लिएका महानिर्देशक हमाल अन्यन्त्रै तानिएका छन् ।

अहिले अघिकांश सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान धमाधम भइरहेको छ । तर, चैत एक गतेबाट निजी तथा सार्वजनिक सवारीसाधनमा पनि जडान अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको मिति पछि धकेलिने भएको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । ‘महानिर्देशकज्युको नेतृत्वमा चैतबाट अनिवार्य भनिएको थियो तर, उहाँको सरुवा भएपछि यो प्रक्रियाको लागी केहि समय लाग्ने भएको छ’ उनले भने ‘ इम्बोस्ड नम्बर प्लेटको लागी हामी नयाँ महानिर्देशकको पर्खाइमा छौं’ ।

सरकारी सवारी साधनमा भने गत फागुनदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य भइसकेको छ । निर्देशक पौडेलका अनुसार ६ हजार बढी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका छन भने चार हजारले जडान गर्नका लागी बुक गरिसकेका छन । अहिले देशको यातायात क्षेत्रकै नियामन गरिरहेको यातायात व्यवस्था विभाग नेतृत्व विहिन छ । खासगरी अत्याधुनिक प्रविधिमा आधारीत रहेको भनिएको इम्बोस्ड नम्बर प्लेट जडान शुल्क चर्को रहेको सेवाग्राहीले बताउँदै आएका छन । तर, सरकार बढी राजस्वको प्रलोभनमा परि जनतालाई चर्को शुल्कको भार बोकाउने भएको सेवाग्राहीको गुनासो छ ।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य बनाएसँगै प्रत्येक सवारीधनीले आफ्नो सवारीअनुकुल प्रतिसवारीसाधन २ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँ तिरेर जडान गर्नुपर्नेछ । यसले सबै आम सर्वसाधारणलाई आर्थिक भार पर्ने निश्चित देखिन्छ ।
यातायात व्यवस्था विभागका अनुसार सरकारले जडान गरिदिन लागेको इम्बोस्ड नम्बर प्लेटको मूल्य हाल ठूला सवारीसाधनमा जडान गरेको ३ हजार ६ सय रुपैयाँ, मझौला तथा साना चारपांग्रे सवारीसाधनमा जडान गरेको ३ हजार २ सय रुपैयाँ, ३ पांग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ र साना २ पांग्रे सवारीसाधनहरुका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सेवाग्राहीहरुलेपनि बारम्बार शुल्क महर्गो भएको भन्दै विरोध गरिरहेका छन् । विरोध भएको खण्डमा इम्बोष्ड नम्बर प्लेट जडान शुल्क घट्न सक्ने संकेत रहेको विभागकै कर्मचारी बताउदै आएका छन् । हाल नेपालमा दर्ता भएका झन्डै ४० लाख सवारीसाधनमा इन्बोस्ड नम्बर प्लेट जडानबाट अबौं राजस्व उठाउने योजना बनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानबाट के फाइदा ?

सवारीसाधनमा अगाडि र पछाडि दुबैतीर इन्बोस्ड नम्बर प्लेट जडान गरिन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रयाकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न सकिन्छ । यसका लागि विभिन्न स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसनका डिभाइस भएको गेटको आवश्यकता पर्दछ । यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।

त्यस्तै सवारीसाधनले कर तिरे नतिरेको समेत सहजै थाहा पाउन सकिन्छ । लामो समय राजस्व नतिरि चलिरहेका सवारीसाधनपनि करको दायरामा आउने छन् । सवारीसाधन चोरीको घटन दिनानुदिन बढ्दै गएको अवस्थामा इम्बोष्ड नम्बर प्लेटले नियन्त्रण गर्ने छ । सवारीमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नुपर्दैन ।


प्रतिक्रिया दिनुहोस !