१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाका कर्मचारीले पाएनन् तलब



पर्वत : पर्वतको सदरमुकाम कुश्मा बजारदेखि दक्षिणमा पर्ने पैयुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलबबिहिन भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल उपसचिवमा बढुवा भई कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई गएपछि पैयुँ गाउँपालिका निमित्तको भरमा चलेको हो । पौडेलको सरुवा भए यता दुई महिनादेखि गाउँपालिकामा कार्यरत कर्मचारी तलब बिहिन भएका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा लेखा अधिकृत सरोज पराजुलीले प्रशासनिक कामकाज चलाइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, नीतिगत निणर्य तथा अन्य दैनिक प्रशासनिक कामकाजमा समस्या भएको बताए । प्रमुख प्रशासकीय अधिकृत माग गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगेपनि अहिलेसम्म कसैलाई नपठाएको अध्यक्ष तिवारीले गुनासो गरे । गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन, २ वटा वडाको भवन निर्माण गर्ने र कोभिड अस्पताल निर्माण गर्ने, विभिन्न खाले ऐन तथा नियमावली जारी गर्ने र विकास निर्माणका काम गर्ने लक्ष्य राखेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काममा अलमल रहेको तिवारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !