१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कांग्रेस उपसभापति गच्छदारलाई पक्राउ गर्ने तयारी !



काठमाडौं : बालुवाटार जग्गा काण्डमा एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका कांग्रेस नेता विजयकुमार गच्छदारलाई पक्राउ गर्ने तयारी गरिएको छ। अदालतले फागुन २३ गते उनको सुनसरी दुहबी नगरपालिकास्थित निवासमा म्याद तामेली टाँस गरेको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रको ११३ रोपनी सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको घरमा ‘मान्छे फेला नपरेको’ ब्यहोरासहितको म्याद तामेली टाँस गरिएको विशेष प्रवक्ता पुष्पराज पाण्डेयले बताए। मोरङ जिल्ला अदालतमार्फत विशेषले म्याद तामेलीको पत्र पठाएको थियो। अदालतले गच्छदारलाई बाटोको म्यादबाहेक १५ दिनभित्र उपस्थित हुन भनेको छ। म्याद तामेली टाँसिएको पनि सोमबार ९ दिन बितिसकेको छ। तर, गच्छदार अझै विशेष अदालतमा उपस्थित भएका छैनन् ।

विशेष अदालतले गच्छदारलाई तेस्रो पटक ताकेता गरिसकेको पाण्डेले बताए। पटक–पटक ताकेता गर्दासमेत उनले अदालतमा उपस्थित हुन इन्कार गरेका छन्। २०७६ फागुनमा पहिलो पटक विशेष अदालतले १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो। सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर भएको थियो। मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो।

गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छदारले तत्कालीन अवस्थामा विभागीय मन्त्री हुँदा सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन मुख्य भूमिका खेलेको आरोप अख्तियारले लगाएको छ। उनी अहिलेसम्म म्याद बुझेका छैनन्। पहिलो हो, सम्बन्धित प्रतिवादी आफैंले म्याद बुझ्ने। प्रतिवादीले नबुझे परिवारका सदस्यले पनि बुझ्न सक्ने व्यवस्था अदालतले गरेको छ। परिवारका सदस्यले नबुझेको खण्डमा घर ठेगानामा म्याद टाँस गर्ने कानुनी प्रक्रिया पनि छ। कानुनअनुसार ४ वटै विकल्पबाट म्याद तामेल हुन नसकेको अवस्थामा अर्को विकल्प अदालतसँग रहन्छ। त्यो हो–बेपत्ते सूचना जारी गरेर पक्राउ गर्ने। हो, अहिले अदालतले गच्छदारलाई अदालतमा हाजिर गराउन यही विकल्प प्रयोग गर्ने तयारी गरेको छ।

अब तोकिएको १५ दिनभित्र उपस्थित नभए उनलाई पक्राउ गर्नुको विकल्प नभएको र त्यसैअनुसार तयारी अघि बढिरहेको अदालत स्रोतले जनाएको छ। विभिन्न सञ्चारमाध्यमले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछेको भन्दै उनले त्यतिबेला असन्तुष्टि व्यक्त गरेका थिए। त्यतिबेला मन्त्रीको हैसियतमा अख्तियारले बयान लिने तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो।


प्रतिक्रिया दिनुहोस !