१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चीनले बन्दुक देखाए हामी पनि बन्दुकै देखाउछौँ : एस जयशंकर



काठमाडौं : अमेरिका सहितका चार राष्ट्रहरुको क्वार्ड बैठकको चीनले आलोचना गरिरहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले बन्द्रक देखाए आफ्नो देशले पनि बन्दुकनै देखाउने बताएका छन् । चेन्नईमा आयोजित इन्डिया–टुडे कन्क्लेभमा जयशंकरले ‘चीनले आफूहरूलाई बन्दुक देखाए जवाफमा भारतले पनि बन्दुक नै देखाउने’ बताएका हुन् । जयशंकरले विश्वशक्तिका रूपमा उदाउँदै गरेको भारतका लागि आगामी दिनहरू चुनौतीपूर्ण रहेको र त्यस्ता चुनौती सामना गर्न वर्तमान राजनीतिक सक्षम रहेको दाबी गरे । जयशंकरले एउटा विश्वशक्तिका रूपमा चीनको उदयलाई दोस्रो युद्धपछिकै असाधारण घटना भएको समेत बताए ।

उनले चीनको उदयको प्रभाव छिमेकी भएकाले भारत र अन्य छेउछाउका मुलुकमा पर्नु स्वाभाविक रहेको समेत उल्लेख गरेका छन् । ‘विश्व शक्तिको उदयको प्रभाव त्यसको छेउछाउमा परिहाल्छ र हामीले पनि त्यो प्रत्यक्ष अनुभव गरेका छौं,’ जयंशकरले भने । त्यसमाथि भारत र चीनबीच सीमालगायत अन्य मुद्दाहरू पनि रहेका हुँदा बढी प्रभाव देखिनु स्वाभाविक रहेको जयंशकरको भनाइ थियो । जयशंकरले भारतका लागि चीनसँगको सम्बन्ध सही दिशामा अगाडि बढाउन चुनौती रहेको समेत संकेत गरे । ‘दुई देशबीचको सम्बन्धमा चीनले गर्ने व्यवहारमा निर्भर गर्छ । यदि उसले हात बढाउँछ भने हामी पनि हात बढाउँछौं,’ पछिल्लो एक वर्षयता चीनसँगको सम्बन्धमा देखिएको उतारचढावतर्फ संकेत गर्दै उनले भने । गत वैशाखमा उत्तरी लद्दाखको सीमावर्ती गलवान क्षेत्रमा भएको हिंसात्मक झडपका कारण दुवै देशबीचको सम्बन्ध निकै तनाव पूर्ण रहँदै आएको थियो ।

उच्च राजनीतिक र सैन्यस्तरमा भएका वार्तापछि मात्र दुई देशबीचको सम्बन्ध केही सहज बनेको हो जयशंकरले भने । भारत जनसंख्याका हिसाबले विश्वको ठूलोमध्ये एक मुलुक भएको र केही वर्षमै विश्वको दोस्रो वा तेस्रो अर्थतन्त्र बन्न गइरहेको हुँदा उसले चीनसँग सुमधुर सम्बन्ध चाहेको समेत उनको भनाइ थियो । त्यसैगरी विदेशमन्त्री जयशंकरले शुक्रबार सम्पन्न भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीचको क्वाड शिखर वार्ता कुनै पनि मुलुकविरुद्ध नभएको प्रस्ट पारेका छन् । चीनले क्वाडलाई ‘मिनी नेटो’ को आरोप लगाउँदै आएको छ । ‘क्वाड कसैको विरुद्ध नभएर केही गर्नका लागि हो,’ जयशंकरले भने ।


प्रतिक्रिया दिनुहोस !