१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

फास्ट ट्रयाकको ५२ अर्बको ठेक्कामा आर्थिक हिनामिनाको आशंकामा लेखा समितिले थाल्यो छानबिन



काठमाडौं । सेनाको नेतृत्वमा बनिरहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकको ५२ अर्बको ठेक्का प्रक्रियामा संसद्को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । पहिलो चरणमा २७ अर्बको ठेक्कामा अघिल्लोपटक प्रिक्वालिफिकेसनमा अयोग्य ठहरिएको निर्माण कम्पनीलाई नै प्रतिस्पर्धाका लागि छनोट गरको भेटिएपछि फास्ट ट्रयाकमा ठूलो रकम हिनामिना भएको आशंकापछि  संसद्को सार्वजनिक लेखा समितिले छानबिन थालेको हो । त्यस्तै, फेज टुमा २५ अर्बको ठेक्कामा आर्थिक प्रतिस्पर्धाका लागि एउटा मात्रै कम्पनी छानिएको भेटिएको छ । जब कि २२ कम्पनीले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए ।लेखा समितिले २६ फागुनमा सेनालाई पठाएको पत्रमा सात दिनभित्र ठेक्कासँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन भनेको छ । तर, सोमबार ६ दिन बित्दासम्म सेनाले कुनै जवाफ दिएको छैन । समितिले ठेक्कासँग सम्बन्धित मुख्यतः तीन प्रश्न उठाएको छ ।

‘ठेकेदार कम्पनीको पूर्वयोग्यता निर्धारण गर्ने क्रममा नै मिलेमतो भएजस्तो देखिएको समितिका सचिव रोजनाथ पाण्डेले बताए । त्यस्तै ठेकेदार कम्पनीको पूर्वयोग्यता निर्धारण गर्ने क्रममा नै मिलेमतो भएजस्तो देखियो । किनकि फेज वानतर्फ निर्माण कम्पनीहरूको पूर्वयोग्यता निर्धारण गर्दा दुईवटा कम्पनी छनोट गरिए । अझ, फेज टुतर्फ एउटा मात्रै कम्पनी छनोट गरिएको छ । शंका यसैमा रह्यो । त्यही भएर समितिले यसमा चासो दिएको हो । छानबिनपछि पक्कै नयाँ तथ्य आउनेछ । फास्ट ट्रयाक ७२.५ किलोमिटर अन्तर्गत करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । सुरुङ र जटिल प्रकृतिका पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । फेज वानका लागि २७ अर्ब र फेज टुका लागि २५ अर्ब लागत अनुमान छ ।

दुवै फेजमा सुरुङ र जटिल प्रकारका पुल बनाउने काम छ । फेज वानका लागि २१ र फेज टुका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तर, फेज वानका लागि दुई र फेज टुका लागि एउटा मात्र कम्पनी प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् । यसरी २७ अर्बको ठेक्कामा दुईवटा कम्पनीबीच प्रतिस्पर्धा हुनेछ । २५ अर्बको ठेक्कामा भने आर्थिक प्रतिस्पर्धा नै नहुने अवस्था छ । यसरी प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति हुँदै छ । आर्थिक प्रतिस्पर्धाविना नै ठेक्का लगाउनु सार्वजनिक खरिद ऐन ०६३ को मर्मविपरीत पनि हो । ठेक्कामा मिलेमतो भएको भन्दै उजुरी परेपछि सार्वजनिक लेखा समिति छानबिन गर्ने निष्कर्षमा पुगेको हो । समितिले छानबिन थालेको यो अहिलेसम्मकै ठूलो परियोजना हो ।

‘पूर्वयोग्यता निर्धारण गरिँदा एउटा मात्रै कम्पनी छनोट भएको छ । ठेक्का लाग्दा उससँग कसैले प्रतिस्पर्धासमेत गर्न नपाउने भयो जुन सार्वजनिक खरिद ऐनको मर्मविपरीत हो । यस विषयमा उजुरी पनि परेका छन् । त्यसैले समितिले चासो दिएको हो । सेनाले फेज वानका लागि चिनियाँ कम्पनी पोली चङ्डा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङलाई छनोट गरेको छ । छनोट भएका दुई कम्पनीबीचको प्रतिस्पर्धामा जसले कम मूल्य कबोल गर्छ उसैले ठेक्का पाउनेछ । तर, फेज टुका लागि चिनियाँ निर्माण कम्पनी पोली चङ्डा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरिएको छ । अरू २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका छन् ।

अचम्म त के छ भने फेज वानतर्फको २७ अर्बको ठेक्कामा प्रतिस्पर्धा गर्न योग्य मानिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ फेज टुको २५ अर्बको प्रतिस्पर्धाका लागि भने अयोग्य ठहर भएको छ । जब कि फेज वान र टुको कामको प्रकृति एउटै हो । सेनाले निर्माण कम्पनीहरूको पूर्वयोग्यता निर्धारणका लागि दुवै फेजको एउटै मापदण्ड बनाएको थियो । तर, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ फेज वानका लागि छनोट भयो, फेज टुका लागि छानिएन ।

सेनाले दुई वर्षअघि नै फेज वान र टुअन्तर्गतका सुरुङमार्ग र पुल निर्माणका लागि कम्पनी छनोट गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यतिखेर ४५ वटा कम्पनीले टेन्डरमा भाग लिएका थिए । पूर्वयोग्यता निर्धारणका क्रममा सेनाले ६ कम्पनीलाई सर्ट लिस्ट गरेको थियो । तर, पछि एकाएक सेनाले टेन्डर नै रद्द गर्‍यो । गत भदौमा पुनः टेन्डर आह्वान गर्‍यो, जसमा पोली चङ्डा इन्जिनियरिङ कम्पनी जबर्जस्त रूपमा अगाडि आयो । फेज वान र टु दुवैतर्फको योग्यता निर्धारणमा यो कम्पनी छनोट भयो । जब कि अघिल्लोपटकको पूर्वयोग्यता निर्धारणका क्रममा पोली चङ्डा छनोट नै हुन सकेको थिएन । लेखा समितिले यसैमा मुख्य प्रश्न उठाएको छ । सेनाले फेज वानका लागि पोली चङ्डासँगै अर्को चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङलाई पनि छनोट गरेको छ । यो त्यही कम्पनी हो जसले बुटवल–नारायणगढ सडकखण्ड निर्माण गरिरहेको छ । दुई वर्षदेखि निर्माणाधीन उक्त सडकको हालसम्मको प्रगति जम्मा १० प्रतिशत मात्रै छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय