१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पप्पुको बदमासी, तीन बर्षमा बनाउने भनेको पुल ७ वर्षसम्म अलपत्र



गौर : मिति २०७१ असारमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटमा बन्दै गरेको पुलको काम समयमा नसकिँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । पुल नबन्दा स्थानीय हिउँदमा बाँसको पुल र वर्षामा ढुंगाको सहाराले आवतजावत गर्न बाध्य छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको सो पुल ६ वर्ष बित्दा पनि निर्माण सम्पन्न भएको छैन । लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिका जोड्ने सो पुल २५ असार ०७४ मै सम्पन्न हुनुपर्ने थियो । तर, हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर लिएर तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने लिखित गरी पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए ।

समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खापलगायत दर्जनौँ गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन हिउँदमा बाँसको पुल र वर्षायाममा जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ । सो स्थानमा दुई वर्ष पहिला डुंगा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो । ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले ठेकेदारले समयमा पुल निर्माण नगरेका कारण चार किलोमिटरमा पुगिने सदरमुकाम गौर पुग्न कि त भारतको बाटो प्रयोग गर्नुपर्ने, कि त २० किलोमिटर घुमेर पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । सम्झौताअनुसार निर्धारित समयमा पुल निर्माण नगर्दा पनि ठेकेदारमाथि कारबाही भएको छैन । राज्यले यस्ता ठेकेदारलाई कारबाही नगर्दा उल्टै उनीहरूको मनोबल बढेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !