१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

क्रान्ति संग्रहालय बन्दै जनमुक्ति सेनाको ब्यारेक



दाङ । दाङको संक्राममा रहेको तत्कालीन माओवादीको जनमुक्ति सेना बसेको व्यारेक क्रान्ति संग्रहालयमा परिणत हुने भएको छ । यसको संरक्षणको लागि भन्दै स्थानीय निकायले यसलाई ब्यारेकबाट क्रान्ति संग्रहालयमा परिणत गर्न लागेको हो । शान्ति सम्झौता पछि २०६४ मंसिर २५ गते तुलसीपुर उपमहानगरपालिकाको यो संक्राममा दीर्घस्मृति ब्रिगेड अन्तर्गतका ३ वटा बटालियन सहितको २ हजार जनमुक्ति सेना बसेका थिए । यी ब्यारेकमा रहेका भौतिक संरचना जस्तापाता तथा काठहरू चोरी भइसकेको छ, भने जग्गा पनि अतिक्रमण हुँदै आएको छ । २ हजार सेना मध्ये दाङ तुलसीपुर उपमहानगरपालिका १८ का घाइते जनमुक्ति सेना भुल बहादुर विक पनि त्यहि ब्यारेकमा बस्दै आएका थिए । आफूजस्तै पूर्व जनमुक्ति सेनाको रगत र पसिनाबाट बनेको संचरनाहरू यस्तो अवस्था देख्दा उनको मन पनि भारी भएको छ ।

व्यारेक लथालिङ्ग अवस्थामा पुगेपछि ब्यारेकामा बस्दै आएकाहरूसमेत समस्यामा परेका छन् । ब्यारेकलाई समान्य संरक्षण बाहेक अरु कुनै प्रगति नभएको संक्राम ब्यारेक भौतिक संरचना संरक्षण तथा व्यवस्थापन समितिका सचिव विभिषण रोका मगरको गुनासो छ । ब्यारेकको संरक्षण गर्छौं भन्दै विभिन्न समयमा नेताहरूले पनि उक्त ब्यारेकको अवलोकन नगरेका भने होइनन् । तर, यो ब्यारेक पछिल्लो समयमा संरक्षणको अभावमा संग्रहालय भन्दा पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ । आफूले विगत एक वर्षदेखि उक्त ब्यारेकलाई हेर्दै आइरहेको कौमती खत्रीले ब्यारेको संरक्षण भन्दा पनि स्थानीयहरूले ब्यारेकको जग्गा पनि अतिक्रमण गरेको आरोप लगाए ।

सेना समायोजन पछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा करिब १० बिघा क्षेत्रफलमा फैलिएको ब्यारेकको संरचना सुरक्षाका लागि सशस्त्र प्रहरीले २०६८ फागुन २७ गतेदेखि हेरविचार गर्दै आएको छ । तर केही समयपछि सशस्त्र प्रहरीले उक्त ब्यारेक छोडेर गएपछि ब्यारेकको संरक्षण उपमहानगरपालिकाले गर्दे आएको थियो । पछिल्लो समय सुकुम्बासीका नाममा ब्यारेक अतिक्रमण बढ्दै जान थालेको छ । यसलाई समयमै ध्यान दिन सकिएन भने यो क्रान्ति संग्रहालय वनाउने नारा पनि मात्र नारामै सीमित हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !