११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

फुटको संघारमा जसपा र एमाले, मुलुक पुन: मध्यावधि चुनावमा जाने प्रबल संभावना



काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी पार्टीभित्र स्पष्ट दुई धार बनेपछि फुटको संघारमा पुगेको छ । पूर्व संघीय समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विस्थापन गर्ने पक्षमा उभिएको छ भने राजपा ओली सरकारबाट नै आफ्ना माग सहज पूरा हुने भएकाले ओलीलाई समर्थन गर्ने पक्षमा देखिएको छ । राजपा पृष्ठभूमिका नेताहरु प्रधानमन्त्री ओली पक्षसँग सघन वार्तामा छन् । यो दुईधारले जसपालाई फुटतर्फ धकेल्ने आंकलनहरु सुरु भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिए उनी अल्पमतमा पर्ने छन् ।

उनले संसदबाट पुनः विश्वासको मत लिनुपर्छ । हाल माधवकुमार नेपाल समूहको समेत साथै रहने हो भने एमालेसँग १ सय २० मत रहेको छ । यही अवस्थामा ओलीलाई विश्वासको मत लिन अर्थात बहुमत पु¥याउँन अरु दलको साथ आवश्यक रहन्छ । कूल २७५ सांसद संख्या गणना गर्दा बहुमतका १ सय ३८ सांसद आवश्यक पर्छ । तर, चार जना सांसद निलम्बित र एक जनाको मृत्यु भएका कारण कूल सांसद संख्या २७० रहन्छ । यस्तो अवस्थामा बहुमतका लागि १ सय ३६ मत आवश्यक हुन्छ । त्यसका लागि प्रधानमन्त्री ओलीले जसपाको साथ लिनुपर्छ । जसपासँग अहिले ३२ सांसद रहेका छन् । एमालेको १ सय २० मा जसपाका ३२ सांसद जोड्दा १ सय ५२ सांसद हुन्छन् । जसले गर्दा ओलीसँग बहुमत रहन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएकै अवस्थामा ओलीले पुनः समर्थन पाउँदैनन्, कांग्रेस आफैं सरकारको नेतृत्व दाबी गरिरहेको अवस्थामा एमालेलाई साथ दिन्छ भन्ने सम्भावना पनि कम हुने भएकाले जसपा मात्र ओलीका लागि उपयुक्त हुन्छ ।

अर्कोतर्फ कांग्रेसको नेतृत्वमा सरकार बन्ने बहस पनि सुरु भएको छ । ओलीलाई भन्दा कांग्रेसलाई सत्ता समिकरण बनाउन माओवादी केन्द्र र जसपा नै आवश्यक पर्छ । कांग्रेससँग हाल ६१ सांसद रहेका छन् । त्यसमा माओवादी केन्द्रका कूल सांसद ५३ मध्ये तीन जना एमालेमा प्रवेश गरेकाले त्यो संख्या घटाउँदा ५० रहन्छ । कांग्रेस र माओवादी केन्द्रको सांसद संख्या जोड्दा १ सय ११ मात्र हुन्छ, त्यसका लागि जसपालाई साथमा ल्याउने पर्छ । जसपाको ३२ जोड्दा १ सय ४३ सांसद रहन्छन् । यदि जसपाको दुई धार फुटको अवस्थामा पुगे, पूर्वराजपासँग १७ सांसद छन् ।

उनीहरुले साथ दिएनन् भने १ सय २६ सांसद मात्र रहन्छन् । त्यसो हुँदा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था रहँदैन । उता, ओलीका लागि जसपा फुटेर पूर्वराजपाले मात्र साथ दिंदा ओलीसँग १ सय ३७ मत रहन्छ । त्यसो हुँदा उनको सरकारले निरन्तरता पाउँछ । तर, उनलाई माधव–झलनाथ समूहले पनि साथ दिनुपर्छ । नत्र ओलीले पनि विश्वासको मत पाउँदैनन् । यस्तो अवस्थामा कसैको पनि बहुमत नपुग्ने भएकाले मुलुक संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर त्यसको ६ महिनाभित्र नयाँ निर्वाचनमा जाने विकल्प रहन्छ । एमाले र जसपा फुटेको अवस्थामा मुलुकको राजनीति पुनः मध्यावधि निर्वाचनतर्फ जानेछ ।


प्रतिक्रिया दिनुहोस !