१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

फुटबाट जोगियो जनता समाजवादी पार्टी



काठमाडौं : नयाँ सरकार निर्माणको बहस आरम्भ भएसँगै सत्ता समीकरणमा कुन पक्षलाई साथ दिने भन्ने विवादका कारण झण्डै दुर्घटनामा परेको जनता समाजवादी पार्टी (जसपा) को संकट तत्कालका लागि टरेको छ । जसपाका एक नेताका अनुसार बिहीवार बोलाइएको पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक स्थगित नभएको भए पार्टी फुटको संघारमा पुग्ने थियो । तर यही संकेत बुझेर नेताहरुले बैठक स्थागित गरेका छन् ।

जसपाभित्र सत्ता समीकरणमा नेपाली कांंग्रेस–माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने भन्ने विवाद छ । अध्यक्ष उपेन्द्र यादवको पक्ष बलियो भएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रलाई साथ दिनुपर्ने गरी प्रस्ताब पारित गराउन लागेको थाह पाएपछि बैठक नै स्थगित गरिएको बताइएको छ । यादवले कार्यकारिणी समितिमा माओवादी केन्द्र जसपाको सम्पूर्ण माग पुरा गर्न तयार रहेको र पहिलादेखि नै मधेशको माग पुरा गर्नेमा सकारात्मक रहेको हुँदा माओवादीलाई सहयोग गर्ने गरी अघि बढ्नुपर्ने तर्कसहित प्रस्ताव लगेर पास गराउने तयारी गरेको सुइँको पाएपछि केही नेताहरुले त्यसलाई अस्वीकार गरेका हुन ।

कार्यकारिणी समितिको बैठक बोलाएको केही समय अघि बसेको पदाधिकारी बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले एमाले अध्यक्ष केपी शर्मा अ‍ोली मधेशको माग पुरा गर्न तयार रहेको तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उधारो सहमति गर्न खोजेको बताउँदै ओलीसँग नै सहमति गरेर जानुपर्ने कुरा राखेपछि जसपा स्पष्ट दुई ध्रुवमा विभाजित बनेको छ । यसरी सत्ता समीकरणमा स्पष्ट दुई खेमा देखिँदै गर्दा बस्ने बैठक स्वभाविक रुपमा संकटग्रस्त हुने र विवाद भएर फुटसम्म पुग्ने आँकलनपछि भएको बैठक स्थगनको निर्णयले जसपालाई विभाजनको संघारबाट जोगाएको हो ।

 


प्रतिक्रिया दिनुहोस !