६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सरकारी जग्गा हडप्ने सचिव, मन्त्री र पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्ने तयारी



काठमाडौं : सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने भएका छन् । भूमाफियासँगको मिलिमतोमा यसरी तानिनेमा केही पूर्वप्रधानमन्त्री, मन्त्री तथा सचिवसमेत रहनेछन् । सो प्रतिवेदन कार्यान्वयनमा आउनासाथ सरकारी जग्गा हडप्नेको सञ्जालसमेत क्षतविक्षत हुने बताइएको छ ।

सरकारले पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा २०७६ सालमा सरकारी, सार्वजनिक र गुठी जग्गामा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले झन्डै ढेड वर्षसम्म अनुसन्धान गरी देशका ३३ स्थानका ८ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा भूमाफियाद्वारा हडपिएको ठहर गरेको छ । आयोगले त्यसरी हडपिएका सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न र हडप्ने कार्यमा संलग्न पदाधिकारी तथा भूमाफियालाई अख्तियारमार्फत कारबाही गरी कानुनी दायरामा ल्याउन सरकारसमक्ष सिफारिस गरिसकेको छ । आयोगले सो प्रतिवेदन गत माघको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिवेदनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार सरकारले भट्टराई आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याउने गृहकार्य अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । यद्यपि, विभिन्न पक्षको तीव्र दबाबका कारण प्रतिवेदन कार्यान्वयनमा चुनौती देखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय