१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

राष्ट्रपतिको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ । रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।

नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ । बङ्गलादेशले नेपाललाई उच्च महत्व र सम्मान दिँदै आएको तथा त्यही वास्तविकता प्रतिविम्बित गर्न आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रले जानकारी दिए । ढाकामा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको भव्य तयारी भइरहेको र राष्ट्रपति मोहमद अब्दुल हमिदले आफ्ना नेपाली समकक्षीलाई सोमबार हजरत शाहजलाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !