१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मनाङमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो



काठमाडौं : मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना हुँदा घटनास्थलमै एक नाबालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । मनाङका डीएसपी सुवास खड्काका अनुसारका अनुसार थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ६–७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक लिउन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्। त्यसैगरी उपचारको क्रममा ट्रकका सहचालक लक्ष्मण नेपाली र स्थानीय राजु विकको मृत्यु भएको हो । सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो। ट्रक सडकबाट करिब ४५ मिटर तल मस्र्याङ्दी नदीमा पुगेको छ। दुर्घटनामा परी ट्रकका चालक लमजुङका सुमन तामाङसहित अन्य केही घाइते छन् । घाइतेलाई उपचारको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको छ। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !