१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओलीको जासुसी संस्थासँग संदिग्ध साँठगाँठ र खलनायकीय भूमिका



प्रधानमन्त्री ओलीका अनेक खालका किस्सा छन् । नेपालको राजनीतिमा नयाँ नयाँ उखान टुक्का ओलीको पर्याय बन्न पुगेको छ । कुनै समय चुलो चुलोमा ग्यासको पाईप, बयलगाडा चढेर अमेरिका, महाकाली सम्झौता भएपछि सूर्य पश्चिमबाट उदाउँछ, बेसार र पानीले कोरोना भगाऔँ भन्ने ओलीका उखानहरु निक्कै चर्चामा छन् । त्यसो त अरु नेताहरुको मुखबाट त्यस्ता टुक्काहरु नसुनेको भने होईन, कम्युनिस्ट सरकार आयो भने रुनै पाईदैन, म पनि भारतको छोरो हुँ भन्ने देउवाका अभिव्यक्तिले जस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कम्फर्टटेबलले पनि चर्चा पाईसकेको छ । देशको राजनीति अत्यन्तै तरल बनेको बेला प्रचण्डले नेपालको भाबी सत्ता समीकरण आफ्नो पार्टी, नेपाली कांग्रेस र राजपासहित मिलेर बनाउँदा भारतका लागि उपर्युक्त अर्थात् कम्र्फटटेबल हुने अभिव्यक्ति दिएपछि एक थरीले कम्र्फटटेबल सही हो भनेर बचाउ गरिरहेका छन् भने अर्काथरीले कम्र्फटटेबल भारत परस्त अभिव्यक्ति भएको भन्दै निन्दा गरिहेका छन् । अझ २०५१ सालमै महाकाली जस्तो राष्टघाती सम्झौता लागु भएपछि पश्चिमबाट घाम उदाउँछ भनेर टुक्का भट्याउने र राता रात महाकाली सन्धि संसदबाट पास गराएर कलंकको टिका लगाएका ओलीले कमरेड कम्र्फटेबल भनेर आलोचना मात्र होईन निन्दासमेत गरिरहेका छन् ।

बाबुराम भुसाल र करनसिंह बडाल
बाबुराम भुसाल र करनसिंह बडाल

भने एमसीसी जस्तो अमेरिका सैन्य सम्झौताका पक्षमा नाभीदेखिको बल लगाएर सडकमा कुर्लिने तथा सञ्चार माध्यममा विज्ञापन गर्ने ओली समूहका कार्यकर्ताले कमरेड कम्फर्टटेबल भन्दै प्रचण्डको अभिव्यक्तिका बिरुद्ध अस्वभाविक रुपमा सडकमा नाराबाजीमा उत्रिएका थिए । महाकालीको मुहान नै किटान नगरी नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अघोषित रुपमा भारतलाई सुम्पने ओली भारत परस्त भन्ने प्रश्न सधै नेपाली राजनीतिमा उठिरहने बिषय हो । त्यस्तै गरी नेपाली कांग्रेस भारत परस्त होकी होईन भनेर बुझन कांग्रेसका संस्थापक वीपी कोईरालाले भारतको माथिल्लो सदन (लोक सभा) मा २ सिट भए पुग्छ भनेर दिएको अभिव्यक्ति र तत्कालीन राणा र कांग्रेसको संयुक्त सरकारका गृहमन्त्री मातृका कोईरालाले भारत भ्रमण अघि पत्रकारहरुसँग नेपालको सुरक्षा नीति बनाउने बिषयमा भारतसँग सल्लाह गर्न भारत भ्रमण गर्न गईरहेका छौँ भन्ने अभिव्यक्तिले त्यसको सपाट जवाफ पाउन सकिन्छ । त्यसो त ओली समूहले बारम्बार प्रचण्डलाई र कांग्रेसलाई भारत परस्त र आफू राष्टवादी भएको गफ चुट्ने गरेका छन् । तर ओलीले नेपालको राजनीतिमा खेलेको खलनायकीय भूमिकाका विषयमा आईलभ यु ओली भन्नेहरुले थाहा नपाए झै गर्छन् । यो लेखमा ओलीले विदेशी गूपतचर निकायसँग गरेका संदिग्ध गतिविधि र त्यसले देशलाई पुर्याएको अतुलनीय क्षतीका बारेमा घटनाहरुको चर्चा गर्ने छौँ ।

महाकाली सन्धि र ओलीको खलनायको भूमिका

विसं २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । केपी शर्मा ओली महाकाली सन्धिका बलिया समर्थक थिए । ओलीले महाकाली सन्धि लागु भएपछि नेपालले दैनिक ५ करोड फाईदा लिने दाबी गरेका थिए । त्यति मात्रै होईन, उनले महाकाली सन्धि संसदबाट पारित भएमा पश्चिमबाट घाम उदाउने भन्दै चर्को समर्थन गरेका थिए । आजसम्म महाकालीमा अरबौँ क्युसेक पानी बहिसकेको छ । हजारौँ दिन बिति सके तर नत ओलीले दाबी गरे झैँ नेपालले दैनिक ५ करोड आर्थिक लाभ प्राप्त गर्यो नत पश्चिमबाट घाम नै उदायो बरु ओलीका टुक्काका बिपरित नेपालले सो सन्धि भएपछि लिम्पियाधुरा लिपुलेक र कालापानी गुमायो । महाकाली सन्धिमा नेपालले हस्ताक्षर गर्दा महाकाली नदीको सम्पूर्ण भागलाई सीमा नदी नमानी गम्भीर गल्ती गरिएको दस्ताबेजमा देख्न सकिन्छ । महाकाली सन्धिको प्रस्तावनामै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकबीचको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने उल्लेख गरिएको छ । जबकि सन् १८१६ को सुगौली सन्धिले काली महाकाली नदीको समग्र भागलाई सीमा नदी मानेको छ । सो सन्धिको धारा ५ मा नेपालले काली नदीभन्दा पश्चिमको आफ्नो दाबी सधैंका लागि छाडेको स्पष्ट रुपमा उल्लेखित छ । महाकाली सन्धि पारित गराउन सदनभित्र कांग्रेसका शेरबहादुर देउवा र एमालेका केपी ओलीको मुख्य भूमिका थियो ।

मदन भण्डारी हत्याको प्रतिवेदन गायब
मदन भण्डारीको हत्या, महाकाली सन्धि र केपी ओलीको अस्वाभाविक उदय एक साथ भएको जानकारहरु बताउँछन् । महाकाली सन्धिविरुद्ध उभिएकै कारण मदन भण्डारी र उनका सहकर्मी जीवराज आश्रितको हत्या भएको ठानिन्छ । उनीहरुको हत्यामा भारतको गुप्तचर संस्था ‘रअ’ को हात रहेको पनि भनिन्छ । मदन भण्डारीको हत्या गरेर, अरु देशभक्तहरुलाई गिरफ्तार गरेर, भद्रकालीमा निषेधाज्ञा र लाठीचार्ज गरेर मध्यराति १२ बजे देशद्रोही महाकाली सन्धि पारित गरिएको थियो । मदन भण्डारीसहित देशभक्तहरुले महाकाली नदीको मुहान र पानी बाँडफाँडको विवाद टुंगो लगाएर मात्र टनकपुर सम्झौता हुनुपर्ने अडान राखेका थिए । भारत त्यसो गर्न चाहँदैनथ्यो । मदन भण्डारीको हत्याको प्रतिवेदन अध्ययन गर्न तत्कालीन एमालेले एकल ओलीको नेतृत्वमा गठन गरेको थियो तर ओलीले भण्डारीको हत्याको प्रतिवेदन सार्वजनिक गर्नुको साटो उल्टै गायब पारेको ओलीसँग करिब १० बर्षे जेल जीवन बिताएका ओलीका सहयोद्धा राधाकृष्ण मैनालीले आफ्नो पुस्तक नलेखिएको ईतिहासमा उल्लेख गरेका छन् । भारतसँगको ओलीको साँठ गाँठका कारण हत्याको प्रतिवेदन लुकाएको ठानिन्छ ।

संविधान बिघटन गर्नओलीको रअका जाशुससँग संदिग्ध साँठगाँठ

ओलीले नेपालमा गणतन्त्र रुचाएका थिएनन् । उनले पहिलो संविधान सभा बिघटन गर्न भारतीय गुप्तचर संस्था रअ र इयु लगायतका गुप्तचर निकायसँग गोप्य साँठगाँठ गरेको सुधिर शर्माले आफ्नो पुस्तक प्रयोगशालामा उल्लेख गरेका छन् । बि. सं २०६९ वैशाख ३१, साँझ ५ बजे, एभरेस्ट होटलको सातौं तलामा एमाले नेता केपी भारतीय दूतावासका मिनिस्टर पिटर जेपी हनामान, पत्रकार विजयकुमार पाण्डे र अर्का अपरिचितसँग ही इज विजयकुमार पाण्डे, भेरी फेमस टेलिभिजन पर्सनालिटी इन नेपाल। एन्ड ही इज सुधीर शर्मा, नेपाल्स रेपुटेड जर्नलिस्ट।।।एडिटर अफ कान्तिपुर डेली भन्दै परिचय गराएको र अपरिचत व्यक्ति भनेर बोलाएको पुस्तकमा उल्लेख छ । त्यसको ओलीलै कहिल्यै खण्डन गरेनन् ।

बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सीमा फिर्ता आउँदैन

ओलीले भारतको भक्ति देखाउदै नेपाली भूमिमा भारतले सडक उद्घाटन गरेपछि बुरुक्क बुरुक्क उफ्रिएर सीमा समस्या समाधान अभिव्यक्ति दिएका थिए । २०७७ बैशाख ३१ गतेको मन्त्रिपरिषदको बैठकमा विरोधको नाममा विरोध मात्रै गरेर सीमा समस्या समाधान हुन नसक्ने बताएका थिए । नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोबार जाने सडक बनाएसँगै त्यसको चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सीमा समस्याको समाधान निस्किन्न संयमतापूर्वक कुटनीतिक समाधान खोज्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

गुप्तचर संस्था रअ प्रमुख गोयललाई बालुवाटारमा न्यानो स्वागत

चर्का नेपालको ईतिहासमा भारतीय गुप्तचर रअ प्रमुख सामन्त कुमार गोयललाई प्रधानमन्त्री निवासमा न्यानो स्वागतसहित वार्ता गर्ने पहिलो प्रधानमन्त्री हुन् ओली । एउटा उपसचिव तहको कर्मचारीलाई बालुवाटारमा बोलाएर वार्ता गरेपछि देशको नै बेईज्जत गरेका थिए ओलीले । त्यसले नेपालको भारतसँगको सम्बन्ध मालिक र नोकरको भन्दा कुनै मानेमा फरक छैन भन्ने भारतको दाबीमा लाहाछाप लगाए ।

निश्कर्ष

ओलीको खलनायकीय भूमिका केबल उनको पार्टी एमालेका लागि मात्र होईन, त्यसले देशलाई पनि गम्भीर अघात पुर्याएको छ । महाकाली सन्धि, पहिलो संविधान सभा भंग गर्न विदेशी गुप्तचर निकायहरुसँगको गोप्य भेटघाट, रअका प्रमुख गोयललाई बालुवाटारमा गरेको न्यानो स्वागतले नाकाबन्दीको बेला लिएको अडान नक्कली र योजनाबद्ध रहेको सहजै बुझ्न सकिन्छ । ओली नेपालको राजनीतिमा षड्यन्त्र, जालझेल र खुराफात गर्ने फस्ट म्यानका रुपमा चिनिन्छन् । उनले आफ्नो गुटको रक्षा र व्याक्तिगत स्वार्थका लागि कुन हदसम्मका गतिविधि गर्न पुग्छन् भन्ने कुराको प्रमाण संसद विघटनको ताजा उदाहरण हो, भने महाकाली सन्धि र गोयललाई बालुवाटारमा गरेको न्यायो स्वागत त स्वभाविक नै हुने भयो । ओलीले आफ्ना गुटका भ्रष्ट नेता कार्यकर्ताको संरक्षण गर्छन् तर उनलाई पार्टी, समाज, देशसँग कुनै मतलब नै हुँदैन । ओली बेला बेलामा नयाँ नयाँ राजनीतिक झिक्न माहिर छन् । नाकाबन्दीमा लिएको अडानको भरपूर सदुपयोग गरेर शक्तिशाली दुई तिहाईको प्रधानमन्त्री बने । तर अपेक्षाकृत काम गर्न नसकेपछि त्यसको अपजस अरुको टाउकोमा थुपार्न आफ्नो पार्टी फुटाउन पुगे । संसद भंग गरे ।

दुई तिहाईको सरकारका प्रधानमन्त्री ओलीले माखो मार्न नसकेपछि भोट बैंकको खोजीमा चुच्चे नक्सा जारी गर्ने बाध्यात्मक अवस्थामा पुगे तर त्यसको क्षतीपूर्ती भर्न भारतीय गुप्तचर संस्था रअ प्रमुख गोयललाई प्रधानमन्त्री निवास बालुवाटारमा न्यानो स्वागत गरे । त्यती मात्रै होईन, उनले देखाएका केही अडानको ब्याजको स्याज चुक्ता गर्न इण्डो पश्चिमा शक्ति केन्द्रलाई खुसी पार्न सार्वभौम संसद नै विघटन गर्न पुगेका हुन् । अझ त्यसमा पनि ओली रोकिने कुनै छाँटकाँट नरहेको र शक्तिकेन्द्रलाई सन्तुष्ट बनाउन अरु केही स्टेप चाल्ने ठानिएको छ । त्यस बिषयमा एमालेकै नेपाल समूहका नेताहरुले संकेत गरिरहेका छन् । अत ओली कुनै देशभक्त नेता नभएर देशका लागि खनायकीय पृष्ठभूमि बोकेका एक नेपाली अनुहारका शक्तिकेन्द्रका इमान्दार सिपाही हुन् उनका संदिग्ध गतिविधिले त्यही देखाउँछ ।

 

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय