१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद तिम्सिनालाई आज परिवारको जिम्मा लगाईने



काठमाडौं । भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल ल्याइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने बताइएको छ । भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम हिजो छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।

अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो । अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । इलामबाट दुर्गाप्रसाद १९ वर्षको हुंदा काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेपछि उनी विभिन्न जेलमा सारिए ।

सन् १९८२ मा उनी अदालती सुनुवाइका लागि मानसिक रुपमा स्वस्थ नभएको जिल्ला अदालत दार्जिलिङले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो । कोलकाताको दमदम कारागारमा राधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस !