८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बैंकहरुले प्रिपेड कार्डको सुबिधा दिने नियम लागू, अब नेटफिलिक्सको टिभी सेवा देखि विदेशबाट सामान तथा सेवा खरिद गर्न सहज हुने



काठमाडौं- केन्द्रीय बैंकले नेपाली बैंकहरुलाई नै प्रिपेड कार्ड जारी गर्न सक्ने सुविधा दिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले वाणिज्य बैंक तथा विकास बैंकहरुलाई ५ सय रुपैयाँसम्मको विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने जनाएको छ । विदेशी विनिमय विभागका प्रमुख रामु पौडेलका अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा ५ सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्ने छन् । यसले सामाजिक सञ्जाल फेसबुक लगायतमा बुस्ट गर्नका लागि सहज हुनेछ ।

अहिले नेपालबाट सामाजिक सञ्जालहरुमा विज्ञापन गर्नुपर्दा विदेशी कार्डहरु प्रयोग गर्ने गरिएको छ । विदेशका बैंकहरुमा खाता खोल्ने र भुक्तानी गर्ने हुँदै आएको थियो । यसरी भुक्तानी गर्दा गैर कानुनी रुपमा नेपाली रकम विदेशीने गरेको भन्दै राष्ट्र बैंकले कडाइ समेत गरेको थियो ।

राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै अब बैंकहरुले प्रिपेड कार्ड जारी गर्नेछन् । ती कार्डहरुबाट सामाजिक सञ्जालहरुमा गरिएको विज्ञापनको भुक्तानी गर्न तथा विदेशी अनलाइनहरुबाट सामान खरिद गर्न सहज हुनेछ । त्यस्तै अब फिल्म पारखीहरुका लागि सजिलै नेटफिलिक्सको ओटीटि सेवा खरिद गरि चाहेको फिल्म तथा भिडियोहरु हेर्न सकिने छ ।

अब सामाजिक सञ्जालमा विज्ञापन गर्न पनि सहज हुने-

सामाजिक सञ्जाल मध्ये पनि सबैभन्दा धेरै विज्ञापन हुने भनेको फेसबुकमा हो । फेसबुक अकाउन्ट वा फेसबुक पेजबाट पैसा तिरेर विज्ञापन गर्न सकिन्छ । कुनै उत्पादन वा प्रचार सामग्रीको बारेमा विज्ञापन गर्नु पर्‍यो भने कुनै फेसबुक अकाउन्ट वा पेजमा त्यो उत्पादनको बारेमा सम्पूर्ण जानकारी समेटिएको फोटो वा भिडियो पोष्ट गरेर विज्ञापन गर्न सक्नु हुनेछ ।

फेसबुक आफैंले विभिन्न प्रयोगकर्ताहरुको टाइमलाइनमा लगेर यसलाई प्रदर्शन गरिदिन्छ । यसवापत फेसबुकलाई शुल्क तिर्नु पर्ने हुन्छ । कुन विज्ञापन हो वा होइन भनेर चिन्ने आधार भनेको त्यो पोष्टको माथि लेखिएको शब्दबाट हो । पैसा तिरेर गरिएको विज्ञापनको माथि ‘स्पोन्सर्ड भनेर अंग्रेजीमा लेखिएको हुन्छ ।

स्पोन्सर्ड गरे बापत फेसबुकलाई तोकिएको रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी गरिने भुक्तानी धेरैले विदेशमा रहेका आफन्त वा एजेन्टबाट गराउँछन् भने नेपालबाटै गर्नका लागि डलर कार्ड भएका डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्ने गरिएको छ । नेपाली बैंकहरुले नै ५ सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेकाले अब भने यो सहज हुने छ ।

मुलुकमा कुनै पनि वित्तीय कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने हुन्छ । तर हालसम्म यस विषयमा राज्यका कुनै पनि निकायलाई जानकारी नदिई विज्ञापनको तिर्नु पर्ने रकम विभिन्न गेट–वेको प्रयोग गरेर भुक्तानी गर्ने गरिँदै आएको छ । अहिलेसम्म सामाजिक सञ्जालमा यसरी गरिने विज्ञापनको भुक्तानीबारे राज्यलाई जानकारी छैन । आम्दानी गरेपछि कर तिर्नु पर्ने व्यवस्था छ, तर यहाँ कुनै पनि सामाजिक सञ्जालले नेपाल सरकारलाई कर तिर्दैनन् ।

केही समय अघि राष्ट्र बैंक ‘वि च्याट’ र ‘अलि पे’ लाई नेपालमा प्रतिबन्ध लगाउने बताएको थियो । चिनियाँहरुले भुक्तानीका लागि प्रयोग गर्ने यी भुक्तानी प्रणालीलाई बन्देज लगाउने भएपछि अब भने वैधानिक प्रणालीमा आउन लागेका छन् । तर सामाजिक सञ्जालबाट हुने अर्बौं कारोबारबारे राज्यलाई कुनै जानकारी छैन । के–कति डलर नेपालबाट सामाजिक सञ्जालबाट बाहिरिन्छ भन्ने तथ्यांक समेत सरकारसँग छैन ।


प्रतिक्रिया दिनुहोस !