१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चीनबाट फर्केका एमबीबीएसका विद्यार्थीहरुको बिचल्ली, इन्टर्नसिप नेपालमै गर्न पाउनु पर्ने माग



काठमाडौं : कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा समस्यामा परेका छन् । चीन फर्कने ग्यारेन्टी नभएकाले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने उनीहरूको माग छ । विभिन्न विश्वविद्यालयका १ सय ५२ विद्यार्थीले इन्टर्नसिप सुनिश्चितताको माग गर्दै सोमबारदेखि नेपाल मेडिकल काउन्सिलमा धर्ना सुरु गरेका छन् । मेरो ४ महिना मात्र इन्टर्नसिप बाँकी छ, विश्वविद्यालय र दूतावासले कहिले चीन बोलाउँछन्, थाहा छैन,’ छात्रा मिमांशु खतिवडाले भनिन्, ‘पढाइ पूरा गरेर काम थाल्नुपर्ने बेला अनिश्चित भएर बस्नुपरेको छ ।’ उनका अनुसार ३ देखि १० महिनासम्म इन्टर्नसिप अवधि बाँकी भएका छात्रछात्रा बिचल्लीमा परेका छन् । गत वर्ष चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी फागुनमा स्वदेश फर्किएका थिए ।

शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलमा माग राखे पनि सम्बोधन नभएको चीनबाट फर्केका छात्र समउज्ज्वल श्रेष्ठले बताए । ‘इन्टर्नसिप नेपालमै पूरा गर्ने व्यवस्थाका लागि अनुरोध गर्दा कसैले कुरा नसुनेपछि धर्ना थालेका हौं,’ उनले भने, ‘माग पूरा नभएसम्म धर्ना जारी राख्छौं ।’ सरकारले छात्रवृत्तिमा पढ्न पठाएका र सशुल्क पढ्न गएका विद्यार्थी कोरोना महामारीमा फर्केका थिए । इन्टर्नसिप पूरा गर्न चीन फर्कन चाहे पनि विश्वविद्यालय र दूतावासले रोक लगाएको विद्यार्थी बताउँछन् । कतिपय विद्यार्थीले काउन्सिलले लिने परीक्षासमेत पास गरिसकेका छन् । इन्टर्नसिप पूरा गर्न पाए लाइसेन्स दर्ता गराएर कामको खोजीमा जुट्ने उनीहरूको भनाइ छ । बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालय र मेडिकल कलेजमा इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने अर्का छात्र विनोद बरालले बताए ।

चीनस्थित नेपाली दूतावास र नेपालस्थित चिनियाँ दूतावासले पनि तत्काल विद्यार्थी लैजान सक्ने परिस्थिति नभएकाले यहीं सहजीकरण गर्न परराष्ट्र र शिक्षा मन्त्रालयलाई जानकारी गराएका छन् । शिक्षा मन्त्रालयमा भएको छलफलमा काउन्सिलका पदाधिकारी इन्टर्नसिप नेपालमै गर्न दिने विषयमा सकारात्मक नभएको विद्यार्थीको गुनासो छ । ‘मन्त्रालय, आयोगका पदाधिकारी नेपालमै इन्टर्नसिप पूरा गर्न दिनुपर्छ भन्ने पक्षमा छन्,’ बरालले भने, ‘काउन्सिलकै प्रतिनिधि मानेका छैनन् ।’ मिलेसम्म चीनस्थित सम्बन्धित कलेज र विश्वविद्यालयमा नै पुगेर बाँकी रहेको कोर्स पूरा गर्ने र नमिले यहीं पूरा गर्न दिनुपर्ने विद्यार्थीहरूको माग छ ।

विद्यार्थीको पढाइ पूरा गर्न चीन नै फर्काउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिए पनि निर्ष्कषमा नपुगेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । ‘नेपालमै इन्टर्नसिप पूरा गराउन शिक्षा मन्त्रालयले मात्र सक्दैन, मेडिकल काउन्सिलको स्वीकृति चाहिन्छ,’ उनले भने । प्राविधिक शिक्षा महाशाखाका सहसचिव हरि लम्सालले विद्यार्थीको समस्या समाधान गर्न मन्त्रालयले मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगलाई अनुरोध गरेको बताए । आयोग र काउन्सिल भने आफ्नो क्षेत्राधिकारको विषय होइन भन्दै पन्छिँदै आएका छन् । सरकारले उच्चस्तरमा छलफल गरेर टुंगो लगाउनुपर्ने यी निकायका पदाधिकारीको भनाइ छ । आजको कान्तिपूर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस !