११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

विद्युतीय कारोबार ह्वातै बढ्यो, क्यूआर कोड मार्फत भु्क्तानीमा क्रान्ति



पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको छ । विद्युतीय भुक्तानी बढेसँगै नगदरहित कारोबार विस्तारै मौलाउन थालेको छ । तपाईं हामीले बोकर हिँड्ने एटीएमबाट मात्रै ४ खर्ब ३ अर्ब ५९ रुपैयाँ नगद झिकिएको छ । चालू आर्थिक वर्ष (२०७७÷७८) को सात महिनामा एटीएमबाट सो रकम प्रयोगकर्ताहरुले झिकेका हुन् । माघ महिनामा मात्र ६० अर्ब रुपैयाँ एटीएमबाट कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

एटीएमबाट मात्र होइन यस्तै पोइन्ट अफ सेल (पस) बाट पनि १७ अर्ब ८८ करोड ६० लाख भुक्तानी भएको छ । पीओएस मेसिनमा उपभोक्ताले आफ्नो एटीएम कार्ड स्वाइप गरेर भुक्तानी गर्छन् ।

एटीएम, वालेट, मोबाइल बैङ्किङ, पस, क्यूआरकोड, आरटीजीएस, ईसीसी, आईपीए, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैङ्किङ, ब्रान्चलेस बैङ्किङ र ई–कमर्समार्फत भएको सबै कारोबारलाई हेर्ने हो भने चालू आवमा २९ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ विद्युतीय कारोबार भएको छ । आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन र बैङ्कसम्म सेवाग्राहीको उपस्थिति कम गर्न डिजिटलाइजेसनतर्फ बैङ्कहरु गएका छन् ।
क्यूआर कोडमा क्रान्ति

गर्भनर महाप्रसाद अधिकारीले एटीएम प्रयोगबापत प्रत्येक करोबारमा १० रुपैयाँसम्म रकम बाहिरिने अभिव्यक्ति दिँदै क्यूआर कोडको प्रवद्र्धन पनि गरिरहेका छन् । क्यूआर कोडमार्फत मात्रै एक महिनामा पौने २ अर्बको कारोबार भएको छ ।

माघ महिनामा १ अर्ब ७१ करोड रुपैयाँ बराबर क्यूआर कोडमार्फत भुक्तानी भएको हो । चालू आवको सात महिनामा भने सात अर्ब ३५ करोड ७० लाख रुपैयाँ क्यूआरकोडमार्फत भुक्तानी भएको हो ।
नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायण पोखरेलले अन्य विद्युतीय डिभाइसको प्रचलन बढेसँगै एटीएमबाट एटीएम प्रयोग पनि कम हुँदै जाने बताउँछन् ।
पहिला एटीएमबाट मात्र कारोबार गर्नेले अहिले क्यूआर कोडबाट पनि भुक्तानी गर्न थालेका छन् भने मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ पनि प्रयोग गर्दै आएका छन् । एटीएमबाट नगद झिक्नेभन्दा पनि क्यूआर कोडमार्फत चाहेको ठाउँमा भुक्तानी गर्ने बानी पार्न राष्ट्र बैङ्क क्यूआर कोडको प्रवद्र्धनमा समेत जुटेको छ ।
काठमाडौँका ठूलाठूला पसलदेखि सामान्य तरकारी पसलमा समेत क्यूआरकोडमार्फत भुक्तानी हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !