८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विद्युत् व्यापार सम्झौताको लागी बंगलादेशले नेपालसँग गर्यो प्रस्ताव , के नेपाल तयार छ ?



बंगलादेशले नेपालसँग विद्युत् व्यापार सम्झौता गर्न प्रस्ताव गरेको छ । सन् २०१४ मा भारतसँग गरिएको जस्तै विद्युत् व्यापार सम्झौता गर्न बंगलादेशले नेपालसँग आग्रह गरेको हो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदबीच २०७५ मा नै दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सोही समझदारीको आधारमा बंगलादेशले नेपालसँग विद्युत् व्यापारको द्विपक्षीय सम्झौताका लागि आग्रह गरेको हो ।
बंगलादेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव राखेको बंगाली सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाली अधिकारीले भने सो विषयमा केही बताएका छैनन् ।

बंगलादेशको पत्रिका द डेलीस्टारका अनुसार बंगलादेशका प्रधानमन्त्री हसिनाका प्रेस सचिव ईशानुल करिमले नेपालका राष्ट्रपति भण्डारीसँग भेट गर्दै बंगाली प्रधानमन्त्री हसिनाले उक्त प्रस्ताव गरेको जानकारी दिएको उल्लेख छ ।

सन् २०४० सम्म बंगलादेशले नेपालबाट झण्डै ९ हजार मेगावाट बिजुली लैजाने विषयलाई रणनीतिक प्रस्तावका रुपमा राखेको छ । नेपाल र बंगलादेशको दुरी २७ किलोमिटर मात्रै रहेको छ ।
त्यसो त भारतीय प्रसारण लाइन तथा संयन्त्र प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजान सकिन्छ । त्यसका लागि प्रसारण शुल्क मात्रै तिरे पुग्छ । बंगलादेशले भारतबाट पनि झण्डै २ हजार मेगावाट बिजुली लगिरहेको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेश लैजाने विषयमा सहमति भएपनि हालसम्म प्रवद्र्धक जिएमआरले कुनै काम गरेको छैन । कूल ९०० मेगावाट क्षमताको सो आयोजनाबाट ५०० मेगावाट बिजुली बंगलादेश लैजाने सहमति भएको छ ।

यस्तै, बंगलादेशका ऊर्जा उद्यमी र नेपालका ऊर्जा उद्यमीमा बीचमा संयुक्त सहकार्यका आधारमा आयोजना निर्माण गर्ने विषयमा पनि पटक पटक छलफल भएको छ । नेपालको बिजुलीको बजार तयार भइरहेको भएपनि सरकारले ध्यान दिननसक्दा कुनै पनि काम अगाडि बढेको छैन ।


प्रतिक्रिया दिनुहोस !