१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सत्ता समीकरण विवादले विभाजन उन्मुख राजपा



काठमाडौं : भावी सत्ता समीकरणको विषयलाई लिएर जनता समाजवादी पार्टी भित्र विवाद चुलिन थालेको छ । पूर्वराजपा र संघीय समाजवादीको बीचमा ओली सरकारमा जाने वा नजाने भन्ने बिषयमा चर्को विभेद हुँदा पार्टी नै विभाजनको आशंका बढ्न थालेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीसँग सहकार्य गर्न सकिने पक्षमा उभिएका छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले सहकार्य गर्नै नहुने अडानमा गरिरहेका छन् । सत्ता समीकरणको विवादले जसपामा पार्टी बैठक र संसदीय दलको नेता चयनमा समेत अलमल परेको छ । मंगलबार जसपाको एउटा पक्षले मात्रै प्रधानमन्त्री ओलीसँग वार्ता गरेको छ । नयाँ सरकारमा सहभागि हुने कि ओलीकै सरकारमा जाने भन्नेबारे विवाद हुँदा नेताहरूबीच दूरी बढेको हो ।

विवादका कारण जसपाले पार्टी समायोजन टुंग्याउनेदेखि संसदीय दलको विधान निर्माण तथा नेता चुन्ने कामसमेत अघि बढाउन सकेको छैन । यसअघि बसेको संसदीय दलको बैठकले विधान पारित र नेता चुन्न नसक्दा फेरि कहिले बस्ने भन्ने टुंगो लागेको छैन । पार्टी केन्द्रीय कार्यकारिणी बैठक पनि होली पर्वसम्मका लागि स्थगित गरिएको छ । जसपामा पूर्वराजपा पक्ष र पूर्वसंघीय समाजवादी पक्षका नेताहरूको फरक–फरक अभिव्यक्ति का कारण विवाद छताछुल्ल बनेको हो । पूर्वसंघीय समाजवादी समूहका नेता तथा पार्टी अध्यक्ष उपेन्द्र यादवले ओलीसँग सत्ता सहकार्य हुनै नसक्ने प्रतिक्रिया दिँदै आउनुभएको छ भने पूर्वराजपा पक्षका नेता तथा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा भए जोसुकैलाई पनि सहयोग गर्न सकिने धारणा राख्दै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !