१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्न : ७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओछ्याउने हो र !



 प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् ।

 नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने ताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के गर्ने भनी प्रश्न गरे । ‘७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओछ्याउने हो र ?’ उनले भने ‘त्यसो हो भने प्रदेशले के गर्ने, केन्द्र सरकारले के गर्ने ?’

प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताए ।

उनले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताए । ‘त्यस्तो सोच हुनै सक्दैन, थुपारेर राख्ने, फ्रिजमा राखेर के गर्ने ?’ प्रधानमन्त्री ओलीले स्थानीय तहसँग खर्च गर्ने क्षमता पनि नभएको बताए ।

‘क्षमता भएको ठाउँमा त खर्च नभएर बेहाल छ भने क्षमता नभएको ठाउँमा झन् गाह्रो हुन्छ’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम गरेको जस्तो लाग्दैन र भनी प्रश्न गरे । सरकारले सडक बालबालिका र सडक मानवमुक्त बनाएको उनले दावी गरे ।

‘सडक बालबालिका खाते भनेर हिंडिरहेका थिए नि अहिले देख्नुहुन्छ ?’ उनले प्रश्न गरे ‘मान्छेका बच्चा कुकुरसँग लडेर कुकुरसँग मिलेर सुत्थे, तपाईं हामीले सडकभरि देखेको होइन, अहिले कहाँ छन् ? किनभने ती बालबालिकालाई हेर्ने सरकार छ ।’

आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको प्रधानमन्त्री ओलीले दावी गरे । नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उनले यसलाई ५० प्रतिशत पुर्‍याउने दावी गरे ।

मेलम्चीको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु हुने र दुइ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस !