१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

काठमाडौँ उपत्यकामा वायु प्रदूषण: अझै घातक, सतर्कता अपनाउन अपिल



काठमाडौँ – काठमाडौँ उपत्यकामा वायु प्रदूषण कायमै रहेकाले सावधानी अपनाउन र अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कन वातावरण तथा स्वास्थ्यविदले आग्रह गरेका छन् । शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । अहिले पनि धुवाँ र कुहिरो छ । वायू प्रदूषण मापन गर्ने सूचकांकका काठमाडौँको प्रदूषण केही कम भएको देखिए पनि स्वस्थकर छैन ।

शुक्रबार विश्वकै प्रदूषित वायुयुक्त शहर बनेको काठमाडौँ अहिले तेस्रो नम्बरमा छ । वायु प्रदूषण मापन गर्ने आइक्यूएअर डट कमको प्रदूषित शहरको सूचिमा हाल तेस्रो नम्बरमा रहेको काठमाडौँको एअर क्वालिटी इन्डेक्स (वायुको गुणस्तर सूचांक) एक्यूआई १८८ छ । शुक्रबार पहिलो नम्बरमा पुग्दा काठमाडौँको एक्यूआई २७७ सम्म पुगेको थियो । हाल विश्वको सबैभन्दा प्रदूषित शहरको सूचिमा चीनको बेइजिङ्ग छ, जसको एक्यूआई २४२ पुगेको छ ।

यस्तै वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रका अनुसार पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वायुको गुणतस्तर कम रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।

यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ। लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जसहितका वन क्षेत्रमा भीषण डढेलो लागेको र त्यहाँबाट निस्किएको धुँवा काठमाडौँसम्म आइपुग्दा वायु थप प्रदूषित भएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले शुक्रबार नै सूचना निकालेर सचेत बनाएको छ ।

मौसमविदहरुका अनुसार प्रि–मनसुनी गतिविधि सक्रिय हुन सक्दा अप्रिल महिनामा औषत भन्दा निकै कम पानी परेको छ । जसका कारण वायुमण्डलमा धुलोका कणहरु बसेका छन् । तत्कालै पानी पर्ने र वायु प्रदूषण कम गर्ने खालको मौसमी प्रणाली नदेखिएकाले सतर्कता अपनाउन मौसमविदले पनि आग्रह गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !