६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै



काठमाडौं- कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ । गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २० र हिजो शुक्रबार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । यसअघि, गत २७ माघमा १ सय ६० संक्रमित थपिएका थिए ।

संक्रमित संख्या बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । केही दिनयता सबैभन्दा बढी गत २१ फागुनमा ६ हजार १ सय ४३ जनाको कोरोना परीक्षण भएको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार ३ हजार ९ सय ६३, बिहीबार ४ हजार ३२ र शुक्रबार ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । यो संख्या अत्यन्त न्यून र परीक्षण दायरा फराकिलो बनाउनुपर्ने जनस्वास्थ्य विज्ञले जोड दिएका छन् ।

देशभर हालसम्म कुल संक्रमित संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २ सय ९९ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ५६ हजार ३ सय पुगेको छ । गएको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभए पनि केही दिनयता चार जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ । नेपालमा कुल संक्रमित मृतक संख्या ३ हजार २४ छ । हाल, ५२ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ७० जना उपचारपछि घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार महामारीबाट बच्न सरकारद्वारा जारी निर्देशन पालना गर्नुपर्नेछ । महामारी तथा प्राकृतिक विपत्तिका बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य रहेको पाण्डेले बताए ।

वल्र्डमिटरका अनुसार हालसम्म विश्वभर १२ करोड ६२ लाख २४ हजार ७ सय ६८ जनामा संक्रमण देखिएको छ । जसमध्ये २७ लाख ६९ हजार ८ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोल्यान्डमा ३५ हजार १ सय ४३, हंगेरीमा ११ हजार २ सय ६५ संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय