१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

२ अर्ब ७३ करोडको राजस्व छली



काठमाडौं- नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको विगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआईसी ट्रेडर्सका प्रोपाइटर भूपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरूमध्ये किशोरी यादवले विभिन्न नक्कली फर्म तथा कम्पनी खडा गरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी राजस्व छली गरेको भन्दै विभागले दुई अर्ब १७ करोड ३५ लाख १८ हजार १ सय ७ रुपैयाँको बिगो दाबीसहति मुद्दा दायर गरिएको जनाएको छ । यसैगरी, ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमारसहित पाँचवटा फर्मलाई ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । जसमध्ये चमारलाई मात्र २७ करोड ६३ लाख ४० हजार ७२५ रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी, विभागले अन्य सञ्चालक हजाराविरुद्ध १० करोड १२ लाख, झाविरुद्ध १० करोड १० लाख, सुरेशविरुद्ध ७ करोड ७९ लाख र कार्कीविरुद्ध ४३ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । यी सबैले नक्कली मूल्य अभिवृद्धि कर बीजक (भ्याट बिल) मार्फत राजस्व छली गरेको विभागको दाबी छ । उनीहरूले राजस्व छलीको क्रममा मालवस्तु खरिद तथा आयात नै नगर्ने र झुटा विवरण देखाउनेजस्ता काम गरेको विभागको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय