१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दै



काठमाडौं- थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले शनिबार बंगलादेशको सामना गर्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा नेपाल बंगलादेशलाई हराउँदै राउन्ड रोबिन लिगको शीर्षस्थानमा रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । बंगलादेशलाई हराउन सके नेपालले लिगमा ४ अंक जोड्दै समूह विजेता बन्नेछ । बराबरीले पनि फाइनल पुग्न पर्याप्त हुने नेपाल १–० को हारले पनि फाइनलमा पुग्न सक्नेछ । २–० को हारले नेपालको फाइनल पुग्ने सम्भावना झिनो बन्नेछ । तीन टिमको प्रतियोगिताको दोस्रो खेल बराबरीमा टुंगिएसँगै बंगलादेश फाइनलमा प्रवेश गरिसकेको बंगलादेश पनि नेपाललाई हराउने लक्ष्यमा मैदानमा उत्रनेछ ।

पहिलो खेलमा किर्गिस्तानमाथि १–० को जित पाएकाले बंगलादेशले एक खेल बाँकी छँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र बंगलादेशबीचको खेलले फाइनलमा बंगलादेशको प्रतिस्पर्धीको छिनोफानो गर्नेछ । त्यसमा जित वा बराबरीले नेपाल फाइनलमा पुग्नेछ । १ गोल अन्तरले हारेको अवस्थामा पनि कार्डको संख्या थोरै भएमा नेपाल फाइनल पुग्न सक्छ । प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टिम घोषणापछि र बिहीबार किर्गिस्तानसँग गोलरहित बराबरीपछि यो टिम सबैभन्दा उत्कृष्ट टिम ‘बेस्ट टिम’ रहेको बताएको थियो । तर, उनले भनेबमोजिम बेस्ट टिमले गोल गर्न नसके पनि किर्गिस्तानविरुद्ध बल पोसेसनमा पकड बनाएको थियो ।

प्रशिक्षक महर्जनले अञ्जन विष्ट र अभिषेक रिजाललाई अग्रपंक्तिमा उतार्न सक्नेछ । कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, भरत खवास, सुजल श्रेष्ठ, विशाल राई, तेज तामाङ, रोहित चन्द, रवि शंकर पासवान, रञ्जित धिमाल, दिनेश राजवंशी, अनन्त तामाङ टोलीमा रहनेछ । किर्गिस्तानविरुद्ध राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएका सन्जोक राई, त्रिदेव गुरुङ र निशान खड्काले बंगलादेशविरुद्ध सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गर्ने सम्भावना छ । पूर्व कप्तान विराज महर्जनले बंगलादेशविरुद्ध खेल्न सक्ने सम्भावना रहेको छ । यी २ टोलीको हालसम्मको २१ भेटमा १२ खेलमा बंगलादेश विजयी भएको छ । ६ खेल नेपालले आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !