१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

लमजुङको घलेगाउँमा आन्तरिक पर्यटकहरुको ओइरो



लमजुङ- स्मार्ट भिलेज घलेगाउँमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा दैनिक पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार माघ महिनाबाटै घलेगाउँमा पर्यटक आउन थालेका थिए । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण केही समय पर्यटक प्रवेशमा रोक लगाए पनि गत असोजबाट पुनः पर्यटकका लागि खुला गरिएको थियो । खुला गरेको सुरुवातको समयमा पर्यटक खासै नदेखिए पनि अहिले पर्यटकको सङ्ख्या बढ्न थालेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

घलेका अनुसार सुन्दर घलेगाउँको दृश्य अवलोकनसँगै कला, संस्कृति र अर्गानिक खानाका लागि दैनिकजसो पर्यटक आउने गरेका छन् । पर्यटक आउन थालेपछि व्यवसायी उत्साहित छन् । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार घलेगाउँमा ५० देखि ६० जनासम्म पर्यटक आउने गरेका छन् । शुक्रबार र शनिबारको दिन धेरै पर्यटक आउने गर्छन् । ३८ घरमा होमस्टे छ । दुईवटा होटल छ । शुक्रबार, शनिबारको दिन २५० देखि ३०० जनासम्म पर्यटक आउँछन्, उहाँले भन्नुभयो, कुनै दिन पर्यटक व्यवस्थापनमा समस्या हुन्छ । गाउँमा अटेन भने भुजुङ र घनपोखरा पठाउने गरेका छौँ ।

लमजुङ सदरमुकाम बेँसीसहरदेखि २४ किलोमिटरको दूरीमा रहेको घलेगाउँमा पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !