१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सुदूरपश्चिम प्रदेश सरकार ढालेर आफू अनुकुल सरकार बनाउने तयारीमा एमाले



धनगढी : सत्तारुढ दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्न छलफल थालेको छ। एमालेले माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउन पार्टीका सांसद्सँग छलफल थालेको हो। नेकपा एमाले कैलाली अध्यक्ष रतन थापाले अबको केही दिनमै सरकार परिवर्तन हुने जानकारी दिए।

‘हामीले छलफल थालेका छौं। केही दिनमै निष्कर्ष निकाल्छौं,’ उनले भने, ‘वर्तमान सरकार असफल भइसकेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। त्यसो भएन भने पनि हामी सरकार ढाल्छौं।’ ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ जना सांसद्को समर्थन आवश्यक हुन्छ।

प्रदेशसभामा एमालेबाट सभामुखबाहेक २४, माओवादी केन्द्रबाट १४, नेपाली कांग्रेसबाट १२ र जनता समाजवादी पार्टीबाट दुई जना सांसद् छन्। एमालेलाई सरकार बनाउन कम्तीमा पनि जनता समाजवादी पार्टी (जसपा)को समर्थन लिनुपर्ने हुन्छ। जसपाको समर्थन लिएपछि एमालेको पक्षमा सभामुखबाहेक २६ सांसद हुन्छन्। विपक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरी कुल २६ सांसद् नै रहन्छन्। यो अवस्थामा सभामुखले निर्णायक मत दिएर एमाले नेतृत्वमा सरकार गठनको बाटो खोलिदिन सक्छन्। एक जना प्रदेशसभा सदस्यले भने, ‘संघीय सरकार पनि अहिलेसम्म एमाले र माओवादीको गठबन्धनमा नै छ। यहाँ प्रदेशमा पनि त्यहीँ अवस्था छ। समीकरण बदल्नेबारे केन्द्रीय कमिटीले निष्कर्ष निकालिसकेको अवस्था छ। अब हामी कार्यान्वयनमा जान्छौं।’

‘एमालेको नेतृत्वमा सरकार गठन हुन टाढाको कुरा छैन,’ एमालेका अर्का प्रदेशसभा सदस्यले भने, ‘एमालेलाई जसपाको समर्थन भए पुग्ने अवस्था छ। हामीले नयाँ सरकार गठनको लागि छलफल सुरु गरेका छौं। एक–दुई दिनमा नै केही परिणाम निस्किन्छ।’ तर, जसपाले एमालेसँग सत्ता समीकरणका लागि निर्णय भइनसकेको जनाएको छ। जसपाकी सांसद् मानमति रानाले केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि समीकरण गर्ने बताइन्।

जसपाको केन्द्रीय तहमा एमालेसँग सत्ता सहकार्य गर्ने कि कांग्रेस र माओवादी केन्द्र गर्ने विवाद छ। केही नेता एमालेसँग सत्ता सहकार्य गर्ने पक्षमा देखिन्छन् भने केही कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्ने भनिरहेका छन्। माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एमालेको समर्थनमा तीन वर्षअघि मुख्यमन्त्री बनेका थिए।

पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने सम्भावना-

एमालेले मुख्यमन्त्रीका लागि प्रदेश सरकारका पूर्व योजना तथा निर्माण मन्त्री पठानसिंह बोहरालाई अघि सार्न सक्ने एक प्रदेशसभा सदस्यले जनाएका छन्। बोहरा तिनै हुन्, जसलाई गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा रहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गुटमा लागेको भन्दै मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेका थिए।

एमाले संसदीय दलको नेता पनि परिवर्तन गर्ने तयारीमा रहेको ती प्रदेशसभा सदस्यले जनाएका छन्। अहिलेको संसदीय दलको नेता प्रकाश शाह वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय हुन्। ‘एमाले संसदीय दलका नेता प्रकाश शाहलाई परिवर्तन गरेर बोहरालाई दलको नेता चयन गर्ने हाम्रो तयारी छ,’ ती प्रदेशसभा सदस्यले भने।

प्रदेश सरकार गठन र संसदीय दलको नेता परिवर्तनको लागि प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक कर्णबहादुर थापा लगायतका नेताहरूले पार्टीभित्र छलफल तीव्र बनाएका छन्। संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश अबको केही समयमै परिवर्तन हुने बताएका छन्। ‘प्रदेश सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको गुनासो बढ्दै गएको छ। अब यो सरकारको आयु धेरै रहन दिनु हुँदैन। पार्टीमा छलफल गरेर केही दिनमै परिणाम निकाल्छौं,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !