१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मेलम्चीको पानी प्रत्येक घरलाई दैनिक औसत हजार लिटर



काठमाडौं- आइतबार दिउँसोदेखि मेलम्चीको पानी काठमाडौंबासीको घर-घरमा पुग्न सुरु भएको छ । उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलन शाक्य लगायतले संयुक्त रुपमा महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन् ।

सुरुङमार्फत सुन्दरीजलमा झारिएको मेलम्चीको पानी प्रशोधन गरेर ४ स्थानमा रहेका ट्यांकीमा जम्मा गरिएको थियो । महांकालको ट्यांकीबाट देवकोटा सडक, बत्तिसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाइएको छ । साँझ बानेश्वर (मिनभवन) र अनामनगरको पानी ट्यांकीमा जोडिएका वितरण लाइनबाट पानीको वितरण भयो भने रातिबाट खुमलटारमा बनेको नयाँ ट्यांकीबाट पानी पठाइनेछ ।

केयूकेएलका अनुसार प्रशोधन गरेर पिउन योप्य बनाइएको ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा हालिएको छ । अब दुई-दुई दिनको अन्तरमा बालाजुस्थित पानी पोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीहरुबाट पानी वितरण थालिनेछ । त्यसपछि कीर्तिपुर, ठिमी, भक्तपुरस्थित ट्यांकीहरुबाट पानी वितरण हुनेछ ।

सुरुमा पुरानै वितरण सञ्जालबाट पानी वितरण गरिएको छ । अब काठमाडौंमा बिछ्याइएका करिब ११ सय किलोमिटर नयाँ वितरण लाइनमा पनि परीक्षण गर्दै पानी छोड्दै जाने योजना छ । यो परीक्षणका लागि दैनिक ३ देखि ४ करोड लिटर पानी छुट्याइने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

उनका अनुसार यसै महिनाभित्र उपत्यकाबासीलाई दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ ।

दिनमा कति आउँछ पानी ?

अहिले केयूकेएलले साप्ताहिक तालिका बनाएर पानी दिँदै आएको छ । मेलम्चीको पानी वितरण सुरु भएपछि धेरैजसो स्थानमा हरेक दिन वा दिन बिराएर पानी दिन सकिने केयूकेएलको दावी छ । यद्यपि पानी आउने अवधि (घण्टा) भने स्थानअनुसार फरक-फरक हुनेछ । औसतमा हरेक ग्राहक (घर)को भागमा दैनिक एक हजार लिटर पानी वितरण गर्न सकिने केयूकेएलका सीईओ मिलन शाक्यले बताए ।

उनका अनुसार केयूकेएलसँग हाल २ लाख ३० हजार ग्राहक छन् । एउटा घरमा १० जना मानिस बस्छन् भन्ने अनुमानका आधारमा प्रतिव्यक्ति औसत १०० लिटरसम्म पानी दिन सकिने उनले बताए । यद्यपि वितरण लाइनको अवस्था, भौगोलिक अवस्थिति लगायतका कारण सबै ग्राहकको घर/कार्यालयमा एउटै दरमा पानी वितरण गर्न गाह्रो रहेको उनले सुनाए । ‘कतिपय स्थानमा पुराना वितरणलाइन साँघुरा र साना समेत छन्,’ उनले भने, ‘चाहेर पनि हामीले समानुपातिक रुपमा वितरण गर्न सक्दैनौं ।’ महांकाल वितरण केन्द्रले निकालेको तालिको पनि यसलाई पुष्टि गर्छ ।

तालिकाअनुसार २४ इन्चको पाइपलाइनबाट मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रका ३ हजार ७९० ग्राहकले तत्कालै ग्राहकले दैनिक असौत १ हजार ५२० लिटर पानी पाउनेछन् । महांकालबाटै वितरण हुने १२ इन्चको पाइलपाइन रहेको जयबागेश्वरी, मित्रपार्क, चाबहिल, रातोपुल लगायतका क्षेत्रका ४ हजार ८९० ग्राहक दैनिक औसत ३६८ लिटर मात्रै पानी पाउनेछन् ।

नयाँ वितरणलाइनको परीक्षण सकिएपछि भने वितरणको परिमाण सुधार हुने केयूकेएलले जनाएको छ ।

तथापि काठमाडौंमा खानेपानीको माग ४७ करोड लिटर पुगिसकेको छ । हाल आपूर्ति भइरहेको ८ करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर जोड्दा पनि माग धन्न भने सक्दैन । केयूकेएलका सीईओ शाक्य भन्छन्, ‘त्यसैले २४ नै घण्टा पानी दिन सकिँदैन, मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाएपछि अधिकांश समयमा पानी दिनसक्छौं भन्ने विश्वास छ ।’

अनामनगर क्षेत्रमा २४ घण्टै पानी

केयूकएलका अनुसार अनामनगरमा भने केही समय २४ घण्टा पानी आउने छ । त्यस क्षेत्रका ५०१ वटा धारामा नयाँ वितरणलाइनबाट पानी दिइनेछ । यसमा थप एक हजार धारा जाडेर केही समय ‘पाइलट प्रोजेक्ट’का रुपमा २४ घण्टा नै पानी दिइने सीईओ शाक्यले बताए । ‘अन्यत्रको हकमा सम्बन्धित वितरण केन्द्रले तालिका निकालेर दैनिक या दिन बिराएर पानी वितरणको व्यवस्था मिलाएका छन्,’ उनले भने, ‘अनामनगर क्षेत्रमा भने परीक्षणका रुपमा २४ घण्टा नै पानी दिएर लिकेजको समस्या, उपभोक्ताको पानी उपयोग गर्ने प्रवृत्ति लगायतमा अध्ययन गर्दैछौं ।’

शुल्क बढ्छ ?

केयूकेएलका अधिकारीहरुले मेलम्चीको पानी आउनसाथ तत्कालै पानीको महशुल दर नबढाउने बताएका छन् । तर, अहिले लिइरहेको शुल्क निकै कम भएको भन्दै सीईओ शाक्यले भने, ‘१० हजार लिटरसम्मको शुल्क १५० रुपैयाँ मात्रै छ । ग्राहकले शुल्क बढाएर भएपनि सेवा प्रभावकारी बनाउन अनुरोध गर्दै आउनुभएको छ, भविश्यमा महुशलमा पुनर्विचार गर्छौं ।’- अनलाइनखबरबाट 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय