८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मौसमी प्रतिकूलता नहट्दा आधै घटे हवाई यात्रु, हेलिकप्टर कम्पनी इमर्जेन्सी उडानमै सीमित   



गत शुक्रबारदेखि सुरु भएको मौसम प्रतिकूलता नहट्दा आन्तरिकतर्फको हवाई उडान सेवामा सोमबार पनि सुधार आएन। मौसमी अनुकूलताको सम्भाव्यता कम भएपछि यात्रुले जहाज उड्ने समय पर्खनुको साटो सडकमार्ग प्रयोग गर्न थालेका छन्।

यसले गर्दा हवाई सेवाका यात्रुको संख्या आधा नै घटेको छ। आन्तरिकतर्फका सबैजसो कम्पनीका निर्धारित उडान प्रभावित भएका छन्। देशका बिभिन्न भागका वनमा लागेको डढेलोले फेलिएको धुवाँ, धुलो काठमाडौंको आकाश ढाकेको छ। भिजिबिलिटीमा गत शुक्रबारका तुलनामा क्रमिक सुधार मापन भए पनि उडान सेवाका लागि अझै आकाश सफा हुनुपर्ने प्राविधिकहरूले बताएका छन्।

टिकट काटेर विमानस्थल पुगेपछि फ्लाइट रद्द हुने र समय सर्ने भएपछि आन्तरिकतर्फका सबै गन्तव्यमा हवाई सेवा प्रयोगकर्ता घटेका छन्। दैनिक ६ हजार यात्रुलाई सेवा दिँदै आएको बुद्ध एयरमार्फत सेवा लिने यात्रु संख्या दुई हजारले घटेको छ। मौसम प्रतिकूलताका कारण कम्पनीको पोखरा र भरतपुर उडान सेवा नै प्रभावित भएको प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए।

‘उडान नै रद्द भएपछि यात्रु संख्या घट्नु स्वभाविक हो। काठमाडौंको मौसम उडानका लागि प्रतिकूल भएका कारण दुई दिनयता पोखरा र भरतपुरका उडान सेवा धेरै प्रभावित भएको छ,’ उनले भने,’पछिल्लो समय दैनिक यात्रु संख्या दैनिक चार हजारदेखि ४५ सयसम्म थियो।’
उनका अनुसार कम्पनीले सामान्यतया पोखरा र चितवनमा क्रमशः नौ र सात वटा उडान गर्दै आएको छ।

हेलिकप्टर कम्पनी इमर्जेन्सी उडानमै सीमित   
शुक्रबारदेखि सुरु भएको हेजका कारण रोटर विङ अन्तर्गत हेलिकप्टर कम्पनीहरुका सेवा पनि प्रभावित भएको छ। वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार मौसममा सुधार नआएसम्म हेलिकप्टर कम्पनीहरु आकस्मिक उडानमा सीमित छन्।


प्रतिक्रिया दिनुहोस !