१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आठ महिनामै खाने तेलको मूल्य झण्डै दोब्बर, भटमास, सनफ्लावरको भाउ उच्च



चालु आर्थिक बर्षको आठ महिनामै खाने तेलको भाउ झण्डै दोब्बर बढेको छ । साउन–चैतको खाने तेलको मूल्य प्रतिलिटरमै १ सय रुपैयाँले बढेको छ । खासगरी भटमास, सनफ्लावर, तोरीको तेलको भाउ उच्च भएको हो ।

अन्य दैनिक उपभोग्य वस्तुको तुलनामा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको देखिन्छ । दाल, चामल, पिठोलगायतका खाद्यान्नको मूल्यको तुलनामा तेलको भाउ थेग्नै नसक्ने गरी बढेको पाइएको छ ।

तर, नेपालमा जुन तरिकाले खानेतेलको मूल्य बढिरहेको छ, यसमा स्वदेशी उद्योगीरव्यवसायीको देन कति छ रु अहिले जुन गतिमा तेलको मूल्य बढेको छ, त्यसमा नेपालका व्यवसायीको कुनै पनि योगदान छैन । भारतीय नेसनल कमोडिटिज एन्ड डेरिभेटिभ मार्केट  अनुसार विश्व बजारमै तोरी, भटमास, र सनफ्लावरको मूल्य दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।

यी तीनवटै वस्तु नेपालमा आयात हुन्छ । नेपालको उत्पादन नगन्य मात्रामा छ । यहाँको उत्पादनले देशको मागलाई धान्दैन् । असारको तुलनामा चैतमा तोरी, भटमास तथा सनफ्लावरको प्रतिटन मूल्य झण्डै दोब्बरभन्दा बढीले बढेको छ । महँगोमा किनेर ल्याएपछि त्यसको उत्पादन स्वतः बढ्नु स्वाभाविक हो । विश्व बजारमा हुने जुन–जुन व्यापार छ, ती वस्तुको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पर्छ भने घट्दा पनि त्यसको असर पर्छ ।

एनसीडेक्सका अनुसार साउनमा ७०० डलर प्रतिटनमा पाइने भटमास अहिले १३०० डलर पुगेको छ । त्यो बेला तेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कारखाना मूल्य थियो । अहिले प्रतिलिटर भटमासको तेल २०५ रुपैयाँ पुगेको छ । जुन गतिमा अन्तर्राष्ट्रिय बजारमा भटमासको मूल्य बढेको छ, सोही गतिमा नेपालमा तेलको मूल्य पनि बढेको देखिन्छ ।

भटमास आयात गर्दा १० प्रतिशत भन्सार पनि लाग्छ । साउनमा ७०० डलरमा १० प्रतिशत लाग्थ्यो । त्यसमा ७० डलर भन्सार लाग्थ्यो । अहिले १३०० मा १० प्रतिशत लाग्छ । त्यो भनेको १३० डलर भयो । यसले पनि लागत बढाएको देखिन्छ ।

यसबाट एकातिर सरकारले पनि तेलबाट पाउने राजस्व दोब्बर पाइरहेको छ । साउनमा प्रतिटन ८४० डलर पर्ने सनफ्लावरको मूल्य १६८० डलर पुगेको छ । यो मूल्य घटेको एनसीडेक्टमा देखिन्छ । एक महिना अघिसम्म १८०० डलरसम्म पुगेको थियो । त्यो बेला पनि उद्योगीले माल मगाएर तेल बनाएका थिए ।

साउनमा प्रतिलिटर सनफ्लावर तेलको मूल्य १३५ देखि १४० रुपैयाँ थियो । अहिले २३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य यहाँ राख्ने हो भने अझै तेलको मूल्य लिटरमै १५ देखि २० रुपैयाँसम्म बढ्न सक्ने देखिन्छ । धेरै व्यापारीले मगाएको सामान अझै आइसकेको छैन । त्यो सामान आइपुग्ने बित्तिकै तेलको मूल्य अझै उकालो लाग्न सक्ने व्यापारीहरू बताउँछन् ।

तोरी अष्ट्रेलिया तथा क्यानडाबाट आयात हुन्छ । साउनमा तोरीको मूल्य प्रतिटन ५२० डलर हाराहारी थियो । अहिले ७८० डलर पुगेको छ । मूल्य डेढी भएको देखिएको छ । असारमा तोरीको तेल प्रतिलिटर १५० रुपैयाँ थियो । अहिले २०५ रुपैयाँ मूल्य पुगेको छ ।

आजको मूल्यमा अन्तर्राष्ट्रिय बजारबाट तेल ल्याएर बेच्ने हो भने अरू १५ देखि २० रुपैयाँ बढ्ने निश्चित छ । नेपालको खाने तेलको मूल्य बढ्ने वा घट्नेमा अन्तर्राष्ट्रिय बजारमा निर्भर छ ।


प्रतिक्रिया दिनुहोस !