१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सर्वसाधारणमाथी हवाईजहाजबाट बम बर्षाउदै म्यान्मारको सेना, ३ हजारले छोडे म्यान्मार



एजेन्सी : म्यान्मारको सेनाले सर्वसाधारणमाथि हवाईजहाजबाट बम बर्षाउन थालेको छ । सीमा क्षेत्रमा विमान तथा हेलिकप्टरबाट सेनाले सर्वसाधारणमाथि हवाई कारवाही गरेको कतारी समाचार सस्था अल्जाजिराले जनाएको छ । दक्षिण पूर्वी राज्य करेन राज्यमा धार्मिक सशस्त्र समूहद्वारा नियन्त्रित क्षेत्रमा हवाई कारवाही भएको बताइएको छ ।

मुट्र जिल्लामा हवाई आक्रमण तथा बम प्रहार हुँदा ३ हजार मानिस ज्यान जोगाउन थाइल्याण्ड भागेको बताइएको छ । करेन वुमन्स अर्गनाइजेसनले विज्ञप्ती जारी गर्दै, ‘सेनाले हवाई कारवाही गरेपछि गाउँलेहरु जंगलमा लुक्न बाध्य भएको बताएको छ । ३ हजार सीमा पार गरेर थाइल्याण्डको शरणमा पुगेका छन् ।’ ‘हामी सेनाको अत्याचारमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्दछौं । हामी यो सन्देश पठाउन चाहन्छौं कि सेनाले दण्डहीनताको साथ काम गर्न सक्दैन’ विज्ञप्तीमा भनिएको छ । गत शनिबार सेना तथा प्रहरीले एकै दिन ११४ प्रदर्शनकारीलाई गोली हानी मारेका थिए । लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै सैन्य शासनविरुद्ध प्रदर्शन भइरहेको हो । सेनाको दमनबीच पनि प्रदर्शन रोकिएको छ । हालसम्म यहाँ ४५९ प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए । धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए । एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ । यता ज्यान जोगाउन भागेका म्यानमारीहरुकोबारेमा थाइल्याण्ड सरकारले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !