१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बेपत्ता भनिएका ७ युवतीहरु भारतमा भेटिए



जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए । सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको हो । घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताए । ‘बालिका बेपत्ता भएको खबर सशस्त्र प्रहरी समेतलाई दिएपछि उनीहरुले भारतीय प्रहरीसँग तत्कालै समन्वय गर्दा बालिका फेला परे,’ उनले भने, ‘सातै जनाको नाम पनि मिलिसकेको छ ।’ उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको उनले बताए । प्रमुख साहले सितामढीमा फेला परेका बालिकालाई ल्याउन आफैं त्यसतर्फ गइरहेको बताए । बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !