४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

दोस्रो चरणको सम्भाबित लहर, एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि



काठमाडौं- नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो तीन चार दिनदेखिको ट्रेन्डले कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको र यसले दोस्रो लहर आउने हो की सम्भाबना बढेको छ ।

दोस्रो लहरको संकेत

गत् सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । बिगत्मा भारतमा कोरोना सङ्क्रमण बृद्धि भएको एक महिनापछि मात्रै नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । भारतमा फागुन अन्त्यमा चौबीस घण्टामा थपिने सङ्क्रमित १२ हजारमा सीमित भएको थियो । तर एक महिना नबित्दै दैनिक रुपमा थपिने सङ्क्रमित करिब ६० हजार पुगेको छ । भारतमा तीन साताको तुलना गर्दा सङ्क्रमण वृद्धि दर पाँच सय प्रतिशतले बढेको देखिन्छ ।

डा. कर्माचार्यले अन्य छिमेकी राष्ट्रको अपेक्षा भारतमा देखिने सङ्क्रमण नेपालसँग सम्बन्धित रहेको बताउनुहुन्छ । उहाँले भारतमा सङ्क्रमण बढेको एक महिनापछि नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । चैत्त महिना यता कोरोना सङ्क्रमितको संख्या बृद्धि भएको छ । नेपालमा फागुन अन्त्यमा दैनिक सङ्क्रमित थपिने संख्या ४८ सम्म पुगेको थियो । दैनिक थपिने सङ्क्रमित हाद १५० भन्दा माथि पुगेको छ । फागुन १९ गते ७६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेकोमा बिस्तारै बढ्ने क्रममा एक महिनापछि उक्त संख्या दोब्बर भएको छ । हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो एक सातामा मात्रै भारतमा ५९ प्रतिशतले सङ्क्रमण वृद्धि भएको छ । नेपाल र भारतमा मात्रै नभई दक्षिण एशियामै पनि कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपले बृद्धि भएको छ । बङ्गलादेशमा एक सातामा सङ्क्रमण ८४ प्रतिशतले वृद्धि भएको छ । पाकिस्तानमा सङ्क्रमित बृद्धि हुने दर २४ प्रतिशत छ ।

भारतमा पछिल्लो दुई सातामा मात्रै १४० प्रतिशतले सङ्क्रमण बृद्धि भएको छ । सोही अबधिमा बङ्गलादेशमा सङ्क्रमित संख्यामा २४३ प्रतिशतले बृद्धि भएको छ ।

सङ्क्रमण दर बढ्यो

दोस्रो लहर आउने सम्भाबनालाई प्रती पीसीआर परीक्षणमा पुष्टि हुने सङ्क्रमणले समेत बल पुर्याएको छ । फागुन अन्तिम साता प्रति एक सय जनाको आरटीपीसीआर परीक्षण गर्दा एकदेखि दुईजनामा सङ्क्रमणको पुष्टि भएको थियो । तर तीन सातापछि उक्त तथ्याङ्क फेरिएको छ । हाल सङ्क्रमण दर चार पुगेको छ । प्रति एक सय जना परीक्षण गर्दा चार जनामा सङ्क्रमणको पुष्टि भएको छ । उक्त ‘ट्रेन्ड’ बढने अवस्थामा छन् ।

डराउन पर्दैन सचेत हुनुपर्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा. रोशन पोखरेलले खुला सिमानाले आवागमन खुकुलो हुँदा सङ्क्रमण बृद्धि भएको बताउनुहुन्छ । उहाँले आगमन रोक्न नसकिने अवस्थामा ब्यवस्थित र सीमा प्रबेश गरेपछि अनिवार्य क्वारेन्टिनमा बस्ने ब्यवस्था कडाइपूर्बक लागू गर्नुपर्ने सुझाउनुहुन्छ । कोभिड १९ को पहिलो लहर आउँदा तयार गरिएको क्वारेन्टिन तथा आइसोलेशन सेन्टर हाल अस्तित्वमा देखिन्न । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसोलेशन र क्वारेन्टिन तयारी अवस्थामा राख्न सबै पालिका र प्रदेश सरकारलाई आग्रह गरिएको बताउनुभएको छ ।

डा. कर्माचार्यले भने दीर्घ रोगी, बृद्ध र गर्भवती महिलाको रेखदेखमा सचेत हुनुपर्ने सुझाउनुहुन्छ । सङ्क्रमित फेला पर्ने अबस्थामा सुरुवातदेखि नै बिरामीको उचित ब्यवस्थापन, कन्टयाक्ट ट्रेसिङ, होम आइसोलेशनमा बस्ने हेरचाहको ब्यवस्थालाई चुस्त राख्नुपर्ने उहाँको धारणा छ । कोभिड सङ्क्रमण चाँडै सर्ने स्थल अस्पताल, विद्यालय, सरकारी अड्डामा निसङ्क्रमिकरणको ब्यवस्थालाई पूर्ब तयारीको अवस्थामा राख्न उहाँले सुझाउनुभयो । तर मन्त्रालयका प्रवक्ता डा. गौतमले भने कोभिड १९ को सङ्क्रमण फैल्न नदिन सामाजिक दूरी बनाएर राख्नु, मास्क अनिवार्य लगाउनु र नियमति हात धुनु अझै महत्वपूर्ण रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय