१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दिनदहाडै खुकुरी देखाएर आईएमईमा लुटपाट गर्ने ४ जना पक्राउ



काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् ।

तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् । आरोपीलाई लुटपाट गरेको केही घण्टामै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ । एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वको समूहले सो आईएमई लुटेका हुन् । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !