७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जेठदेखि ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने, सानो गल्तीले फेल नहुने



सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने भएको छ ।

यातायात व्यवस्था विभागले प्रस्ताव गरेको सवारीसाधन अनुमतिपत्र कार्यविधि २०७७ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अनुमोदन गरेसँगै १ जेठदेखि यो नियम लागू हुने भएको हो ।

यसअघि सर्वसाधारणले ट्रायल सेन्टरले तोकेको सवारीसाधनले ट्रायल दिनुपर्ने व्यवस्था थियो । ट्रायल सेन्टरले तोकेको सवारीसाधनमा यान्त्रिक गडबडीका कारण ट्रायल फेल हुने गरेको धेरै गुनासो आउने गरेको थियो ।

विभागले यसका लागि केही नियम भने बनाएको छ । ट्रायल दिने मोटरसाइकल वा स्कुटर पेट्रोलबाट चल्ने इन्जिन क्षमता कम्तीमा ९५ सीसी हुनुपर्नेछ । यसको ह्विल बेस १ हजार २ सय मिलिमिटरको हुनुपर्नेछ ।

मोटरसाइकल मात्रको हकमा म्यानुअल ट्रान्समिसन, हिल होल्ड, हिल असिस्ट वा समान प्रकारको उपकरण हुनुपर्नेछ । त्यसैगरी, म्याद नसकिएको सवारी दर्ता प्रमाण पत्र र म्याद नसकिएको तेस्रो पक्ष बीमा अनिवार्य हुनुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

त्यस्तै कार, जीप, भ्यानको हकमा पेट्रोल, डिजेल र ग्यासबाट चल्ने इन्जिन क्षमता कम्तीमा ७५० सीसीको हुनुपर्ने छ भने गाडीको बेस २ हजार ३ सय  मिलिमिटर अनिवार्य हुनुपर्नेछ।

सानो गल्तीले ट्रायल फेल नहुने 

सावारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा ट्रायल सहज बनाइएको छ । पहिलेको ट्रायलको कुनै पनि चरणमा सानो मात्रै गल्ती भएपनि फेल हुने नियम हटाइएको छ । हाल ७ चरणमा निश्चत अंक राखेर १०० पूर्णाङ्क  बनाई ७० ल्याउनेलाई पास गराइने भुसालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !