१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सिसडोलवासी र काठमाडौं महानगरबीचको वार्ता असफल,फोहोर विसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने



काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ ।

सिसडोलवासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर विसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने भएका हुन् ।

सिसडोलवासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो । बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बिरामी परेको भन्दै बीचमै उठेर हिँडेपछी वार्ता असफल भएको सिसडोल क्षेत्र फोहोर मैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।

उनले मेयर शाक्यकै कारण आफूहरूका कुनै पनि माग पूरा हुने स्थितिमा नरहेको र आफूहरू वार्तामा बस्दा अपमानित भएको महसुस गरेको पनि बताए । उनले महानगरले हेपाहा प्रवृत्ति देखाएकाले फोहोर विसर्जनका लागि सडक बन्द गर्ने निष्कर्षमा पुगेको बताए ।

सिसडोलवासीले अव्यवस्थित फोहोर विसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकूल असर परेकोले यसअघिका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् । उनीहरूले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्ने कार्य १३ चैतदेखि पूर्णरूपमा बन्द हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !