११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरु



काठमाडौं : उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी रहेको र केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ शाक्यले बताए ।

लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए । शाक्यका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ । यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने शाक्यले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ(साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !