८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विश्व बैंक र नेपालबीच ८ अर्ब ७० करोड रुपैयाँको सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं : कोरोना भाइरस विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच शुक्रबार ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र नेपाल, मालदिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले हस्ताक्षर गरेका छन् ।

‘कम्तीमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय–सान्दर्भिक सहयोग पुर्‍याउनेछ,’ अर्थ सचिव ढुंगानाले भने, ‘कोभिड-१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड-१९ विरूद्घका खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ ।’ गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर रूपैयाँ बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना अतिरिक्त वित्तीय सहयोग प्राप्त भएको हो ।

स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्यसम्बद्ध संस्थागत निकायले गर्नेछन । यस अतिरिक्त आर्थिक सहयोगको ९० प्रतिशत हिस्साले कोभिड १९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड १९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिने बताइएको छ । ‘कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण छ,’ नेपाल, मालदिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद–जर्भोसले भने । ‘विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण, र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरविरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ । यस अन्तर्गत न्यून तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्ब डलरको विश्वव्यापी प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।


प्रतिक्रिया दिनुहोस !