१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दुई करोड ४० लाखमा भवन बनाएर मासिक ४० हजार भाडामा कार्यालय संचालन गर्दै नापी विभाग



म्याग्दी : बेनीमा करोडौँ खर्च गरेर निर्माण गरिएको जिल्ला नापी कार्यालय भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको मङ्गलाघाटमा २०७७ मङ्सिरमा निर्माण गरेको साढे तीन तले पक्की भवन प्रयोगविहीन बनेको हो । मासिक रु ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको रु दुई करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो । विसं २०७५ मा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिम पटक थपिएको म्याद गत मङ्सिर मसान्तमा सकिएको छ । निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले मुल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास र प्राविधिक मूल्याङ्कन नभएको बताए ।

मङ्सिरमै भवन निर्माण सकेर हस्तान्तरण गर्न खोजेको हो तर नापी कार्यालयले अन्तिम मूल्याङ्कन गर्न र भवनसम्म पुग्ने बाटो बनाएर प्रयोगमा ल्याउन बेवास्ता गरेको छ खतिवडा भन्छन् । तत्कालीन शहरी विकास तथा भवन कार्यालय बागलुङको प्राविधिक सहयोगमा निर्माण शुरु भएको भवनको प्राविधिक रेखदेख गर्ने जिम्मेवारी पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण भइसकेको छ । भवनको ठेक्का प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेकाले पनि जिम्मेवारी लिन प्राविधिकले नचाहेको र निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले करिब रु ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताए । उता बालमन्दिर चोकमा मासिक रु ४० हजार तिरेर १० वटा कोठा भाडामा लिई नापी कार्यालय सञ्चालन गरिएको छ । आगामी असारसम्मका लागि भाडा तिर्ने बजेट आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !