१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बैतडीमा भेटियो दोस्रो फलाम खानी



बैतडी- बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताउनुभयो । फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ ।

फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, “८० प्रतिशतसम्म फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । सुरुमै फलाम भेटिँदा भने हामी उत्साहित बनेका छौँ । ”

फलामखानी सञ्चालनमा आए रोजगारी सिर्जना हुने सिगा गाउँपालिका–१ का वडाध्यक्ष गगनसिंह धामीले बताउनुभयो । धामीले भन्नुभयो, “गाउँमा रोजगारी नहुँदा भारत जानुपर्ने बाध्यता छ । खानी उत्खनन हुनसके गाउँमै रोजगारी सिर्जना हुन्छ । ” फलामखानीको विस्तृत अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको अध्यक्ष धामीले बताउनुभयो ।

यसअघि बैतडीको पुरचौडीमा रहेको फलाखानीबाट स्थानीयले भाँडाकुडा बनाउने गरेका थिए । द्वन्द्वकालमा बन्द भएको पुरचौडीको फलामखानीमा अहिले पनि करिब तीन सयभन्दा बढी खाल्डा रहेका छन् । पुरचौडीको फलामखानी निरीक्षण गर्न खानी तथा भूगर्भ विभागको टोली आए पनि फलाम उत्खननको काम अगाडि नबढेको पुरचौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय