१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मामुली कुरा उचाल्छन्, महत्वका कुरा लुकाउँछन्, यस्ता पनि पत्रकार हुन्छन् ? : ओली



काठमाडौं : काठमाडौंमा नै संवाददाता छैन, लाइभ हेर्ने रिपोर्टर छैन । यस्ता छन् पत्रकार । तर, यस्ताहरु छन् । मामुली कुरा उचाल्छन् तर, राष्ट्रिय महत्वका कुरा उठाउँदैनन् । मेलम्ची काठमाडौंमा पानी आउने कुरा युगान्तकारी कुरा हो । राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् ’ प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बालुवाटारमा पत्रकारहरुविरुद्ध खनिनु भयो । एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ कार्यक्रममा बोल्दै मामुली कुरा उचाल्ने तर, राष्ट्रिय महत्वका कुरा नउठाउने भन्दै पत्रकारको झाँको झार्नुभयो ।

मिडियाले मेलम्ची खानेपानीको विषयलाई महत्वका साथ प्रकाशित नगरेर अतिरञ्जित गरेकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको छ । उहाँका अनुसार देशमा त्यस्तो खालको राष्ट्रिय महत्वका कुरा उठाउने मिडिया नै नेपालमा छैन । यसअघि उहाँले भन्नुभयो, ‘काकाकुल भनिएको काठमाडौंलाई तृप्त बनाउका लागि मेलम्चीको पानी त ल्याइयो । हामीले भगिराथले गंगा ल्याएको भनिएको सुनिएको त थियो । हामीले मेलम्चीको पानी ल्याएर देखायौँ ।’

सरकारले गरेको सिन्को भाँचेको नदेखेको पनि उहाँको आरोप छ । गरेको काम नदेख्ने तर, राजनीति भाँड्ने काम गरेको, नेवारी संस्कृति विनाश गर्न लागेको भन्दै नेवारहरु उठ्नुपर्यो, फाँसीवाद आयो भनेर भन्ने गरेको उहाँले बताउनुभएको छ । ५७ अर्ब १० करोड लागतमा १ सय ६५ सडक सञ्जाल निर्माण योजना अघि बढाइएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । साथै, अबको ३ वर्ष अर्थात् २०८० भित्र यी सडक योजनाहरु निर्माण गरिने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !